काठमाडां । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि सरकार योजनावद्ध तयारीमा जुटेको बताए । उनले भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने निर्णय भइसकेको बताए । उनले भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा गइसकेको उल्लेख गरे । उनले भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी निवासहरुको पुनःनिर्माण, बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपर्ने आवश्यकता रहेको बताए ।
गृहमन्त्री लेखकले भने , ‘यस वर्षको मनसुनबाट क्षति भएका निजी निवासहरुको पुनर्निर्माण गर्नेक्रममा हामीले बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपरेको छ । २०७२ सालको भूकम्पमा देशले व्यापक मात्रामा क्षति भोग्नुप¥यो । उक्त भूकम्पबाट देशले व्योहर्नुपरेको अधिकांश क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।
त्यसपछि २०७९ सालको डोटी भूकम्पका साथै गत वर्षमा जाजरकोट र बझाङ भूकम्पबाट हामीले थप धनजनको क्षति व्यहोर्नुप¥यो । अहिले हामी क्षतिको पुनःनर्माणको योजनावद्ध तयारीमा जुटेका छौं । जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि हामीले अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड नेपाल सरकारबाट पारित भई लागू भइसकेको छ ।
त्यसगरी, पाँच लाख रुपैयाँसम्म अनुदान सहयोग र प्राविधिक सहायोगका प्राबधान समेटिएको स्थायी आवास पुनःर्निमाण सम्बन्धी कार्यविधि कार्यकारी समितिको बैठकबाट निर्णग गरी पारित भइसकेको छ । जाजरकोटको भूकम्पबाट भएको क्षतिको विस्तृत आँकलन (डिडिए) हामी यसै महिनाभित्र प्रारम्भ गर्नेछौँ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी समेत गरे ।