काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतीय सवारी साधनको प्रयोगलाई थप सहज बनाउन चार्जिङ स्टेशनहरूको संख्या बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को रजत जयन्तीको अवसरमा बिहीवार आयोजित इप्पान इभी र्यालीमा बोल्दै घिसिङले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको जानकारी दिए। उनका अनुसार अब निजी गाडी मात्र नभई यात्रुवाहक सवारी साधन पनि विद्युतीयमा रूपान्तरण हुँदै गइरहेको छ, जुन ऊर्जा क्षेत्रको विकासका लागि सकारात्मक संकेत हो ।
उनले प्राधिकरणले विद्युत खपत वृद्धि गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउँदै इप्पानको इभी र्यालीले यस अभियानलाई थप बल दिएको धारणा राखेका छन् । ‘हाल ७० प्रतिशत सवारी साधनको खरिद-विक्रि विद्युतीय सवारी साधनमा भइरहेको छ,’ घिसिङले भने, ‘तर, विद्युतीय सवारी साधनको प्रवर्द्धन केवल गाडी किनेर मात्र सम्भव छैन। त्यसका लागि देशभर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, विशेष गरी चार्जिङ स्टेशनहरूको विकास अनिवार्य छ ।’
उनले हालसम्म निजी क्षेत्रको लगानीमा ६ सयभन्दा बढी चार्जिङ स्टेशन निर्माण भइसकेको र थप ५ सय स्टेशन निर्माणका लागि आवेदन परेको जानकारी दिए । यी परियोजनाले रोजगारी सिर्जना गर्नका साथै मुलुकभित्र उत्पादित विद्युतको खपत बढाउनेमा उनको विश्वास छ ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले पनि मुलुकभित्र उत्पादित विद्युतको उपयोग बढाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा विद्युत उत्पादन वृद्धि भइरहेकाले यसको खपतलाई बढावा दिन विद्युतीय सवारी साधन र सामग्रीहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् ।
‘सबै नागरिकले विद्युतीय सवारी साधन प्रयोग गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो,’ कार्कीले भने, ‘यो नीतिगत पहलले न केवल आर्थिक उन्नति ल्याउँछ, तर स्वच्छ ऊर्जा उपयोगमार्फत पर्यावरणीय संरक्षणमा पनि योगदान पुर्याउँछ ।’