काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् ।
बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा समेत गरे ।
उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताए ।
उनले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए । ‘अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पुर्याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पुर्याउन सकेका छैनौं,’उनले भने, ‘त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पुर्याउँछौं ।’
उनले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए ।