राजनीति

वाइल्डलाइफ फोटोग्राफर शेर्पाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले साहसिक वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले शेर्पाप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । ६४ वर्षिया शेर्पाको पुस २८ गते निधन भएको थियो ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं २ निवासी शेर्पा नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका कार्यसमितिका सभापति एवं साविक चौरीखर्क गाविसका पूर्व अध्यक्ष थिए ।

होटल र पर्यटन व्यवसायी समेत रहेका शेर्पा नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरुमा पुगेर दुर्लभ वन्यजन्तुका अनौठा तस्वीर खिचेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित थिए । केही वर्षदेखि वाइल्डलाफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आवद्ध रहँदै आएको कांग्रेसले जनाएको छ । शेर्पाको निधनले फोटोग्राफी र वन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो क्षति पुगेको कांग्रेसको निष्कर्ष छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना देउवाले प्रकट गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट