विचार

सांसदहरू आफ्नो सम्पत्ति सार्वजनिक गर्नु नपर्ने ?

काठमाडौं । आनिर्वाचन सम्पन्न भएको ६ महिना बितिसकेको छ । तर, कुनै पनि राजनीतिक दलका सांसद तथा स्वतन्त्र सांसदले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । कुन सांसदको सम्पत्ति कति छ ? कसैलाई थाहा छैन । कानुनमा सांसदले अनिवार्य सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्ने उल्लेख छ । जनताले पनि आफूले चुनेर पठाएको सम्पत्तिबारे जानकारी पाउनुपर्छ ।

भुटानी शरणार्थी प्रकरण बाहिर आएपछि अहिले सदनमा भ्रष्टाचारविरुद्धको अभियान चलेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर अधिकांश सांसद सदनमा उफ्रिरहेका छन् । तर, यिनीहरूकै सम्पत्ति कसले छानबिन गर्ने ? सदनमा कांग्रेस महामन्त्री गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही २०४६ सालभन्दा पछाडिका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ आवाज उठाइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो टेलिभिजनमा बसेर चर्चा कमाए । त्यसकै आडमा उनी संसद् पुगे । गृहमन्त्री पनि बने । यद्यपि, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् । टेलिभिजनमा बसेर अर्कालाई थर्काएर, धम्काएर जोडेको सम्पत्ति लुकाउन उनले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन् ।

एमालेका महेश बस्नेत पनि अहिले भ्रष्टाचारविरुद्धको अभियानमा लागेका छन् । भ्रष्टाचार रोक्नुपर्छ भनेर सडकसम्म आइपुगेका छन् । महेश बस्नेतले थुप्रै व्यापार व्यवसायमा लगानी गरेका छन् । जग्गा प्लानिङदेखि लिएर होटल व्यवसाय र निजी स्कुलमा उनको धेरै लगानी भएको बताइन्छ । यत्रो सम्पत्ति कहाँबाट आयो ?

जसजसले धेरै भ्रष्टाचार गरेका छन्, तिनीहरू नै यतिबेला भ्रष्टाचारविरुद्धको अभियानमा लागेका छन् । आफ्नो कर्तुत लुकाउनका लागि नेताहरू अभियानमा जोडिएको छर्लंग छ । संसदमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीभन्दा बढी भ्रष्टाचार गर्ने धेरै भएको अनुमान गरिन्छ ।

मेडिकल माफिया, निर्माण व्यवसायी, म्यानपावर व्यवसायी, ठेकेदारलगायतले सदन भरिपूर्ण छ । दलाल पृष्ठभूमिबाट आएका व्यक्तिलाई भ्रष्टाचारविरोधी नारा लगाउन सुहाउँछ ? राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि यही टोलीमा परेका छन् । उनले पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् ? नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल पनि अरुभन्दा फरक रहेनछन् । उनले पनि अहिलेसम्म व्यक्तिगत सम्पत्तिबारे सरकार र जनतालाई जानकारी गराएका छैनन् ।


स्वतन्त्र सांसद अमरेशकुमार सिंह भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै सदनमा अर्धनग्न भए । उनले सदनमा सर्ट र
गन्जी फुकालेको पूरा दुनियाँले देख्यो । त्यही दिन उनको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै अख्तियार दुरु्रपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । किनकि उनी पनि अन्यजस्तै हुन् ।

आफ्नो सम्पत्ति पहिले सार्वजनिक गर्न सक्नुपर्छ अनि मात्र अरुको बारेमा टिप्पणी गर्नु उचित हुन्छ । चर्चामा आउनका लागि जे पनि बोलिदिने, जे मनलाग्यो त्यही गरिदिने प्रवृत्ति बढेको छ । ? अरुमाथि हिलो छ्याप्नुअघि आफ्नो छवि सफा हुनुपर्छ । होइन भने अरुमाथि औंला नउठाउँदै वेश होला ।

अहिलेका सभामुख देवराज घिमिरेले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सभामुख आफैं त कानुन उल्लंघन गर्नतर्फ लागेका छन् भने सांसदले उनको सिको सिक्नु त स्वाभाविकै हो । सभामुखदेखि लिएर सांसदलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न किन डर लागिरहेको छ ? जनताले यसलाई कसरी बुझ्ने ? बिचौलिया सांसदहरूले कतिञ्जेल जनताको आँखामा छारो हाल्ने ? जनता र मिडियालाई झुक्याएर सांसद बनेकाहरूले सम्पत्ति सार्वजनिक गर्दैनन्, सरकारले नै खोतल्नुपर्छ ।

सांसदमा निर्वाचित भएकाहरूले सरकारबाट पाउनुपर्ने हरेक सेवासुविधा लिइरहेका छन् । सरकारी गाडी चढेका छन्, मासिक तलब बुझ्छन्, बैठकपिच्छे भत्ता लिन्छन् । देशविदेश घुमेका छन् । सांसदको सेवासुविधा लिएका उनीहरूले सांसदले पालना गर्नुपर्ने नियमकानुन मान्नुपर्छ कि पर्दैन ? अहिले सदनमा भ्रष्टाचारविरुद्ध बोल्नेको ओइरो लागेको छ । त्यसरी नै सम्पत्ति सार्वजनिक गर्न हानाथाप गरेको भए हुन्थ्यो ।

सांसदको संख्या नपुगेर कति ऐन रोकिएको छ । सदनको आफ्नै नियम होला, तर कसले टेर्ने ? कोही पेन्ट र टिसर्ट लगाएर पुगेका हुन्छन् । नेपाली नभई विदेशी पोसाकलाई प्रोत्साहन गर्ने काम सांसदहरूले गरिरहेका छन् । कतिपय सांसद सदनमा मस्तसँग निदाइरहेका हुन्छन् । सदनमा के भइरहेको छ ? उनीहरूलाई केही अत्तोपत्तो हुँदैन । उनीहरूलाई सुत्नका लागि तलब दिइएको हो ? सदन सुत्ने ठाउँ हो ? कोही चल्दै गरेको सदनमा लुगा फुकालिदिन्छन् । सदन लाइभ चलिरहेको हुन्छ, देशविदेशमा हेर्छन् भन्ने यिनीहरूलाई थाहा छैन ? नेपालको बदनाम गर्नतिर लागिपरेका छन् सांसद ।

हालै धादिङमा एक युवाले आत्महत्या गरे । २१ सय रुपैयाँ शुल्क नतिरेपछि विद्यालयले उनलाई प्रवेशपत्र दिएन । स्कुलले प्रवेशपत्र नदिएपछि उनले आत्महत्याको बाटो रोजे । शुल्क तिर्न नसक्दा विद्यार्थीहरू आत्महत्या गरिरहेका छन् । पढ्ने उमेरका नेपाली जनताका छोराछोरी खाडी पुगिरहेका छन् । देशको अर्थतन्त्र तहसनहस बनेको छ । सांसद हुँदा पनि देशको अवस्था उस्तै छ, नहुँदा पनि उस्तै ।

राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भइरहेको छ । मुलुकले कहीँकतैबाट निकास पाउँछजस्तो देखिँदैन । किनकि नेताहरू सुध्रिने गुञ्जायस नै छैन । जनताहरू कार्यकर्ता होइन, नागरिक बन्नुपर्छ । आफ्नो पार्टीको नेताले जतिसुकै नराम्रो काम गर्दा पनि नबोल्ने अर्काको पार्टीको विरोधमा बुरुकबुरुक उफ्रिन्छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । ३२ दिन गृहमन्त्री हुँदा लामिछाने आफैंले पनि धेरै ‘सेटिङ’ मिलाएको बाहिर आएको थियो । त्यसैले अन्यलाई नानाथरी गाली गरेर आफू बच्ने प्रपञ्च नरचौं ।

प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना पुग्न थाल्यो । तर, उनले आफ्नो मन्त्रिमण्डलमा बस्ने कुनै पनि मन्त्रीको सम्पत्ति सार्वजनिक गर्न चासो देखाएका छैनन् । साँच्नै देश बनाउने र भ्रष्टाचार हटाउने हो भने सरकारी कर्मचारीदेखि लिएर नेता र व्यवसायीको सम्पत्ति छानबिन गर्नुपर्छ । गलत रूपले कमाएको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *