सत्तापक्ष र विपक्ष दलका नेताहरूबीच यतिबेला सदनमा जुहारी चलिरहेको देखिन्छ । जनताको कुरा उठाउन छाडेर सांसदहरू व्यक्तिगत झगडामा मस्त छन् । कसको कर घटायो ? कसको कर बढायो ? भन्नेतिर मात्र ध्यान गएको छ । एमाले अध्यक्ष केपी ओलीलाई मुलुक र जनताभन्दा पनि व्यापारी प्यारो भएको छर्लंग देखिन्छ । उनी जतिबेला पनि कुन व्यापारीलाई घाटा हुने भो ? कुनलाई फाइदा हुने हो ? भनेर प्रश्न उठाइरहेका हुन्छन् ।
देशको अवस्था के छ ? जनताले खान पाएका छन् कि छैनन् ? यो विषयमा उनले एकरत्ति पनि चासो देखाएका छैनन् । सदनमा जतिबेला पनि मजाक चलिरहेको हुन्छ । सदन ‘कमेडी क्लब’ जस्तै देखिन्छ । एउटाले अर्कोलाई हिलो छ्यापेर आफू चर्चामा आउने काम सदनमा भइरहेको छ । एउटै विषयलाई एजेन्डा बनाएर एउटै व्यक्तिमाथि लागेको लाग्यै गर्छन् ।
सदनमा सबै सांसद आफ्नै सुरमा हुन्छन् ।
कोही गफिरहेका हुन्छन् त कोही सुतिरहेको । अहिलेसम्म एउटा पनि सांसदले गम्भीर भएर जनताको विषयमा बोलेको पाइँदैन । सदनमा उठाउन सांसदहरूसँग कुनै विषयवस्तु नै छैन जस्तो लाग्छ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी जहिले पनि संघीयता खारेज गरौं भनिरहेका हुन्छन् । संघीयताले देशको आर्थिक अवस्था नाजुक भयो भन्नेबाहेक उनी केही भन्दैनन् ।
कुनै सांसदसँग ‘म तलब लिँदिन’ भन्ने आँट छैन । न सरकारी सेवासुविधा चाहिँदैन भन्ने सक्ने क्षमता उनीहरूसँग छ । सदनमा २७५ जना सांसद छन् । तर, सबै ‘एउटै ड्याङको मुला’ हुन् । कसैसँग भिजन र योजना नै छैन । भन्नलाई सबै पढेलेखेका हुन्, तर तिनीहरूसँग टेम्पोमा खलासी बस्ने क्षमता पनि छैन । पार्टीले जे भन्छ, सांसदहरूले त्यही बोलिरहेका छन् ।
काभ्रे २ बाट निर्वाचित गोकुल बाँस्कोटा सदनमा पार्टीका अध्यक्ष केपी ओलीको गुनगान गाइरहेका हुन्छन् । सदन ओलीको योजनाअनुसार चलेको छ । प्रधानमन्त्रीको कुर्सीमा अरु भए पनि ओलीले देश चलाइरहेका छन् भनेर उनी सदनमा बोल्छन् । काभ्रेका जनताले ओलीको भक्तिगान गाउन बाँस्कोटालाई विजयी बनाएको हो ? ओलीले सदनमा पठाएको कि काभ्रेली जनताले ?
काभ्रेको जनताको अवस्था उनले देखेका छन् ? उनी काभ्रेलीको जनप्रतिनिधि बनेर सदनमा आएका हुन् । काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो काभ्रे । यद्यपि त्यहाँ ट्याक्सी पाइँदैन । एक किलोमिटर यात्रा गर्न निजी प्लेटका गाडीलाई दुई हजार रूपैयाँ तिर्नुपरिरहेको छ । भनेको बेलामा गाडी नपाउँदा बिरामीलाई अस्पताल पुग्नकै सास्ती छ ।
पाँचखाल, पनौती, बनेपालगायत काभ्रेका अधिकांश ठाउँका जग्गाजमिन प्लटिङ गरेर सकिसकेको छ । सबै टुक्राटुक्रा बनाएर जग्गा सकाइयो । उब्जनी हुने जग्गामा इँटाभट्टा सञ्चालन भइरहेको छ । क्रसर माफियाहरूले कोसीका गिट्टीवालुवा र ढुंगा धमाधम निकालिरहेका छन् । यस्तो हुँदासम्म उनले चुइँक्क आवाज निकालेका छैनन् । जंगल सबै फँडानी गरिएको छ । उनी मौन छन् ।
सूचना तथा सञ्चारमन्त्री हुँदा उनीमाथि ७० करोड भ्रष्टाचार गरेको आरोप लाग्यो । त्यसले काभ्रेलीको शिर निहुरियो, तापनि काभ्रेलीले उनलाई नै चुनाव जिताए । विश्वासको आडमा काभ्रेलीले भोट दिए । अघिल्लो चुनावभन्दा बढी मत दिएर बाँस्कोटालाई सदनमा पठाए । सदनमा पुगेपछि देश र जनताको कुरा उठाउने कि ओलीको झोला बोक्ने ? अस्पतालको अवस्था नाजुक छ । गरिबीका कारण जनताका छोराछोरी विद्यालय जानबाट वञ्चित छन् । उपत्यकासँगै जोडिएको जिल्ला भए पनि काभ्रेलीको अवस्था एकदम नाजुक छ । कतिपय ठाउँमा बत्ती पुग्न सकेको छैन ।
ओली झापाबाट जितेर आएका हुन् । उनले राम्रो काम गरे ताली पाउँछन् नत्र गाली । ओलीले गरेको कामको मूल्यांकन गर्न जनता छन् । सदनमा पठाउने अधिकार जनतासँग थियो, पठाए । अब त्यसको तिरो तिर्ने पालो त बाँस्कोटाको हो । चुनाव हरेक पाँच वर्षमा आउँछ । बाँस्कोटाले के के बोलेका छन् ? के के गरेका छन् ? जनताले नियालिरहेका छन् ।
२०८४ कोे चुनावमा उनले यसको जवाफ पाउँछन् । साँच्चै जनताका लागि आएको हो भने सरकारी सेवासुविधा केही लिनुभएन । सेवासुविधा छोड्ने आँट छ ? तलब लिँदिन भनेर भन्न सक्छन् ? सदनमा उभिएर विदेशी ऋण मिनाहा गर्नुपर्छ भन्न सक्ने क्षमता छ । खानलाई छैन भने काभ्रेली जनता छन् । आफूले दुःखसुःख गरेर उब्जाएको जे छ, त्यही खुवाउँछन् । तर, देश बेचेर तलबभत्ता खाने र सरकारी गाडी चढ्ने काम नगरौं । बाँस्कोटा मात्र होइन, अन्य पनि त्यस्तै देखिएका छन् ।
पार्टीको कुरा पार्टी कार्यालयमा गएर बोल्ने हो, सदनमा होइन । यो सबैले बुझिराख्न जरुरी छ । सदनमा दिइएको समयको सदुपयोग होस् । एकअर्कामाथि औंला ठड्याएर केही हुनेवाला छैन र अहिलेसम्म भएको पनि छैन । जनताको अवस्थाबारे मनन गरर सदनमा बोलौं । नेपालको अधिकांश जमिन छिमेकी मुलुकले कब्जा गरिसकेका छन् । सरकारले आफ्नो भूमि फिर्ता ल्याउन सकिरहेको छैन । भएको पनि सबै घरजग्गा बनाएर सखाप पारिएको छ ।
सरकारले बजेट भाषणमार्फत जग्गाको कित्ताकाट खोलिसकेको छ । यसमा रोक लगाउन जरुरी छ । भारतले खाद्य पठाइदिएन भने नेपाली जनता भोकभोकै मर्छन् । देशको उब्जनीले धान्न सक्ने अवस्था छैन । माटोभन्दा ठूलो केही हुँदैन भनेर सबैले बुझिराखौं । माटो भएन भने कोही बाँच्न सक्दैन । हालसालै मात्र एकजना महिलाले खान नपाएर आफू पनि मरिन्, आफ्नो छोराछोरीलाई पनि मारिन् । यो मुलुककै लागि लाजमर्दो विषय हो ।
न सरकारी कर्मचारीमा नैतिकता देखियो न जनप्रतिनिधिमा । बाटोमा मागेर खानेको संख्या ह्वात्तै बढेको छ । बेरोजगारीले सीमा नाघिसकेको छ । महँगीले आकाश छोइसकेको छ । मुलुक विदेशी ऋणको दलदलमा फसेको छ । अझै पनि जनताका प्रतिनिधि भनिएकाहरू रमिता हेरेर बसेका छन् । सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्ने हो भने देश जोगाउन सम्भव छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केही वर्षअघि एउटा अन्तरवार्तामा भनेका थिइन्, ‘मेरो बुवालाई घन्टैपिच्छे लुगा फेनुपर्छ । खानामा एकदमै सौखिन हुनुहुन्छ । माछामासु नभईकन खाना खानु हुँदैन ।’
हिजो सामन्ती, शोषकीहरूको विरोध गर्ने वर्तमान प्रधानमन्त्री प्रचण्ड आज आफै शोषकीमा गनिन्छन् । आफू टन्न खान्छन्, जनता भोकभोकै छन् भन्ने कुरा उनले देख्दैनन् । कोट पाइन्ट लगाउने प्रचण्ड अहिले दाउरा सुरुवाल लगाएर हिँड्छन्, किन ? बलजस्तै निस्किएको पेट त लुकाउनुपर्यो ।
दाउरा सुरुवाल लगाउनेहरू शोषकी सामन्ती हुन् भनेर प्रचण्डले जनयुद्धको बेलामा मार्न लगाए । अहिले आफैं दाउरा सुरुवाल लगाउँछन् । सर्पले काचुली फेरेझैं नेताहरूले विचार र सिद्धान्त फेरेपछि देशमा कहिले विकास हुन्छ ? जनताले सुख पाउँछन् ? विदेशी हस्तक्षेप रोकिन्छ ?