काठमाडौं । राजाको पालामा घुस लिने र दिने दुवैलाई जेल कोचिन्थ्यो । तर, पछिल्लो समय जुनसुकै काम घुस नदिई हुँदैन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुलुकका ‘हाइप्रोफाइल’ नेताहरू समातिए । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायत अन्य थुप्रैमाथि करोडौं रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
उनीहरू हाल प्रहरी हिरासतमा छन् । प्रहरीले घुस लिनेलाई समात्यो, दिनेलाई किन समातेन ? करोडौं रुपैयाँ खर्च गरेर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तम्तयार हुनेलाई पनि पक्राउ गर्नुपर्ने हो । तिनीहरू कसरी पीडित भए ? गैरकानुनी प्रक्रियामार्फत अमेरिका जान खोज्नेलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्छ । घुस लिने जति दोषी छन्, घुस दिनेहरू पनि उति नै दोषी हुन् ।
यो घुस प्रकरण त एउटा उदाहरण मात्र हो । किनकि यहाँ जागिर खान होस् या राजनीतिमा एउटा स्थान बनाउन घुस खुवाउनैपर्छ । क्षमता छ, तर पैसा नभईकन केही चल्दैन । कि आफ्नो मान्छे हुनुपर्छ । लोकसेवामा जागिर खान घुस चाहिन्छ नै । पढाइ, काम गर्ने क्षमता र ट्यालेन्ट होइन, कति पैसा बगाउन सक्छ ? त्यो हेरिन्छ । होइन भने राजनीतिक दलको सिफारिस हुनुपर्छ । आर्मी, पुलिसमा जागिर खान घुस दिनैपर्छ । ठेकेदारहरूले ठेक्का आफ्नो हात पार्न पनि सरकारी निकायका कर्मचारीलाई घुस खुवाउँछन् । चुनावमा उठ्न पार्टी अध्यक्षलाई घुस दिनुपर्छ । मुलुकमा कसरी भ्रष्टाचार हट्छ ?
हरेक पाइलामा भ्रष्टाचार छ ।
घुस लिने र दिने काम जहाँतहीँ भइरहेको छ । सरकारी कर्मचारीको तलब कति हुन्छ ? २० हजारदेखि ८५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी छन् । तर, २० हजार कमाउनेको महलजस्तो घर छ । उनीहरूको तीन करोडदेखि १० करोड रुपैयाँसम्मको सम्पत्ति छ । यो कसरी सम्भव भयो त ? त्यति जाबो कमाउनेले छोराछोरी पढाओस् कि घरको खर्च टारोस् । तलबको पैसाले राम्रो खानलाउन पुग्दैन, सम्पत्ति कहाँबाट जोड्ने ?
यो भ्रष्टाचार हो भनेर छर्लंग देखिन्छ । तर, उनीहरूको विरोधमा उजुरी हाल्ने आँट कसैमा पनि छैन । जन्म दिने बुवा नै भ्रष्टाचारी भए त उजुरी हाल्न र कानुनको कठघरामा उभ्याउन खुट्टा कमाउनुहुँदैन भने अरुको कुरै छोडौं । अरुलाई लुटेर ल्याओस् कि ठगेर, खर्च गर्न र आरामदायी जिन्दगी जिउन पाए हुन्छ ।
नेपाली समाजमा भ्रष्टाचार गरेर सात पुस्तालाई पुग्नेगरी सम्पत्ति जोडिन्छ । हजुरबुवाले भ्रष्टाचार गरेको पैसामा सात पुस्ताले मोज गर्छन् । काम पनि गर्न नपर्ने, आरामदायी जिन्दगी बिताउन पाइने । अनि कसरी भ्रष्टाचार हट्छ ? सरकारले जुनसुकै नीतिनियम र कानुन बनाए पनि भ्रष्टाचार हटाउन सम्भव छैन । जबसम्म घरघरबाट भ्रष्टाचारीको विरोधमा आवाज उठाइँदैन, तबसम्म यो क्रम चलिरहन्छ । मुलुक भ्रष्टाचारको जालोबाट निस्किन सक्दैन । सरकारले निःशुल्क भनेको सेवासुविधा साँच्चै निःशुल्क छ त ? घुस नदिएसम्म सरकारी कर्मचारीले काम नै अघि बढाइदिँदैनन् । पैसा खुवायो भने ‘ठाउँको ठाउँ’ काम हुन्छ । तर, घुस दिएन भने महिनौंसम्म पनि फाइल अड्काएर राखिदिन्छन् ।
शिक्षा दिने ठाउँमा समेत आर्थिक चलखेल हुन्छ । विद्यार्थीका लागि सरकारले छुट्याएको दिवा खाजाकै पैसामा शिक्षकले भ्रष्टाचार गर्छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सहयोग दिइएको कापी कलमसमेत बेचेर खाइदिन्छन् शिक्षक । शिक्षक त यस्ता छन् भने विद्यार्थीलाई के सिकाउँछन् ? अन्यायमा परेकालाई न्याय दिने भनिएका वकिलहरू पनि घुसखोरी भए । अहिले जति पनि सरकारी, गुठीका जग्गा व्यक्तिको नाममा गएका छन्, त्यो सबै वकालत गर्नेहरूकै काम हो । पैसा खुवाएपछि वकिलहरूले हार्ने मुद्दालाई पनि जिताइदिन्छन्, जित्ने मुद्दालाई पनि हराइदिन्छन् ।
बैंक तथा वित्तीय संस्थाको कुरा गरौं । सबैभन्दा धेरै घुसको चलखेल हुने क्षेत्र बनेको छ यो ।
आफ्नै सम्पत्ति धितो राखेर, मासिक ब्याज तिरेर कर्जा लिन पनि घुस खुवाउनुपर्ने । भन्नलाई खुल्ला प्रतिस्पर्धामार्फत टेन्डर आह्वान गरेर ठेक्का दिइएको भनिन्छ । तर, ठेकेदारहरूले सरकारी निकायका हाकिमलाई घुस नखुवाएसम्म ठेक्का पाउन सम्भव छँदै छैन । यता घुस खुवाउँछ, उता झारा टार्ने काम गरिदिन्छन् । बाटो कालोपत्र गरेको वर्षदिनमै उक्किन्छ । पुल बनाउँदा बनाउँदै भत्किन्छ ।
मुलुकमा घुसबिना काम हुने कुन क्षेत्र छ त ? पदमा पुग्न मात्र बेर लाग्ने हो, पुगेपछि रातारात मालामाल बन्छु भन्ने सोच सबैमा छ । हामीलाई कसले कसरी कमायो ? भन्ने कुरा थाहा छ । कसैले राज्यलाई राजस्व छलेर कमाएको छ, कसैले व्यक्तिलाई लुटेर । तर, त्यसको विरोधमा कसले त्यस्ताको विरोधमा कानुनको ढोका ढक्ढकाउने