काठमाडौं । ‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन’ भन्ने उखान नेपाली समाजमा चर्चित छ । चाहे त्यो व्यक्ति व्यक्तिमा होस् चाहे राष्ट्र राष्ट्रमा । एउटा नसकिकन अर्को माथि जाँदै जाँदैन । व्यक्ति सकाउन उसको घरमा किचिलो बनाइदिन्छन्, राष्ट्र सकाउन राजनीतिमा । तर, कतिपयले यो कुरा बुझ्दै बुझ्दैनन् ।
अरुले उचालेको भरमा उचालिने व्यक्ति होस् या राष्ट्र त्यो धेरै बेर टिक्न सक्दैन । हिजो राजनीति परिवर्तन गर्ने बेलामा नेपालका नेताहरू भारतमा लुकेका थिए । नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरूले भारतकै योजनाअनुसार राजनीति परिवर्तन गरे । पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याइयो । नेताहरूले लुकेरै जनता उचालेर सडकमा ल्याए । त्यत्रो सहिद भए । सबै जनता आफ्नो विरोधमा उत्रिएपछि राजाले समेत घुँडा टेक्यो । मुलुकको अनुहार फेरिएला भनेर लागेका जनतालाई अहिले आएर थकथकी लागेको छ । किनकि जनताले सोचेकोभन्दा ठ्याक्कै उल्टो गतितिर नेताहरू लागेका छन् ।
नेताहरूले आफ्नो सिद्धान्त, विचार सबै छोडेर देश बेचेरै भए पनि कमाउनुपर्छ भन्ने मात्र सोचे । अरुले सेयर दलाल गर्छन्, जग्गा दलाल गर्छन्, तर हाम्रा देशका नेताहरू ‘देश दलाल’ गर्छन् । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतकै कारण आज मुलुकको यस्तो हालत छ । नेपालको जमिन छिमेकीले मिचेका होइनन्, यी दलालहरूले बेचेका हुन् । आफैंले बेचेको जमिन फिर्ता ल्याउन अब यिनीहरूले पहल गर्छन् भनेर नेपाली जनताले नसोचे पनि हुन्छ ।
भारत र चीनले सयौं वर्षअघिदेखि नेपालको जमिन कब्जा गर्दै आएका छन् । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा पनि भारत र चीनले धेरै नेपाली भूमि अधिक्रमण गरेका थिए । यो क्रम अहिले पनि जारी छ । उनीहरू दादागिरी देखाउँदै अर्काको जमिन कब्जा गर्ने अनि नेपालका नेताहरू टुलुटुलु रमिते बनेर हेर्ने । भारत र चीनले जति नेपालको जमिन कब्जा गरेको छ, त्यो अहिलेको सदनले फिर्ता ल्याउन सक्दैन ।
सरकारमा बस्ने होस् या सांसद सबै भारतले भनेको मान्छन् । भारतको विरोधमा नेपाली जनताले आवाज उठाए भने यिनीहरू भारतको गुनगान गाउन थालिहाल्छन् । आफ्नो जीउमा नेपाली पोसाक भिर्दैमा र नेपाली भाषामा बोल्दैमा सच्चा नेपाली होइँदैन । नेपाली हुन पहिले नेपाल आमाको संरक्षण गर्न सक्नुपर्छ ।
नेपाली सेना शान्ति सुरक्षा दिन विभिन्न मुलुक जान्छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि शान्ति कार्यमा खटिन्छ । तर, यो त नौटंकीजस्तो देखिँदैन र ? किनकि नेपाली सेनाले आफ्नै देशको जमिनको संरक्षण गर्न सकिरहेको छैन । सशस्त्र र नेपाली प्रहरीले पनि मुलुकको जमिन बचाउन असमर्थ छ । अहिले जति पनि सेनाको ब्यारेक छ, त्यो राजधानीको मुटुमा छ । अन्य जिल्लामा पनि सदरमुकाममा ब्यारेक ठड्याइएको छ । प्रहरी र सशस्त्र पनि सेवासुविधाको भोगी भए । जनताले तिरेको करबाट मासिक तलब खाएका छन्, तर काम केही गर्दैनन् ।
छिमेकीहरूले रातारात सीमा सारेर नेपाल सिध्याइरहेका छन् । तर, सुरक्षा निकायहरू अझै पनि हात बाँधेर बसेको छ । राष्ट्रको सुरक्षा नै गर्न नसक्ने सुरक्षाकर्मीहरू किन चाहियो ? जनताले तिरेको कर बढी भएको छ र, सित्तैमा बिहान बेलुका भात खुवाउन र मासिक तलब दिन । सुरक्षा निकाय काम नै नगरी तलबभत्ता खाने ठाउँ बन्न पुगेको छ । देशको सदन हेर्यो भने ‘चिडियाखाना’ जस्तै लाग्छ । मुलुकको भूमि जोगाउने, जनताको हकहितमा आवाज उठाउनेभन्दा पनि झगडा गर्नमै सांसदहरू व्यस्त छन् ।
एकअर्कामाथि हिलो छ्याप्नेबाहेक अरु केही गर्दैनन् । यी सांसदलाई नेपालको क्षेत्रफल कति थियो र अहिले कति छ ? भन्ने नै थाहा छैन । कोही अमेरिकन नागरिक सदनमा पुगेका छन् त कोही अमेरिकी दलाल । कसैलाई राजतन्त्रको पक्षमा भक्तिगान गाएर फुर्सद छैन् । कोही पार्टीको अध्यक्षको झोले भएको प्रमाण सदनमा दिइरहेका छन् । अनि यस्ता सांसदले मुलुकको अनुहार फेर्छन् ?
विदेशीले भनेको मान्नेको हातमा देशको चाबी सुम्पिनु नै गलत भएको छ । देश जोगाउन पहिले राष्ट्रप्रति प्रेम हुनुपर्छ । जनताले विरोध नगर्ने र यिनीहरूले मौका पाए भने देश नै अन्य मुलुकलाई बेचेर हिँडिदिन्छन् । मुखमा राष्ट्रियता झुण्डाउँदैमा केही हुनेवाला छैन । सदन के हो ? र, त्यसको काम के हो ? भन्ने नै सांसदहरूलाई थाहा भएन । कोही बाहिर गाली गर्न नपाएर सदनमा आएकोजस्तो देखिन्छ । कोही आफ्नो पार्टीको अध्यक्षलाई जथाभावी गाली नगर्न भन्दै सदनमा उभिएर बोल्छन् । झगडा नै गर्ने हो भने सदनमा किन आउनुपर्यो ? जनताले तिरेको कर खेर गइरहेको छ । वैदेशिक रोजगारीमा पठाउने एजेन्टहरूको इज्जत यी सांसदभन्दा धेरै छ ।
देशमा यत्रो आर्थिक मन्दी आएको छ । व्यापार व्यवसाय ठप्प छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्नसमेत मुस्किल छ । राजस्व उठ्न छाडिसकेको छ । विदेशी ऋण बढेको बढ्यै छ । तर, सांसदहरू देखेर पनि अनदेखा गरिरहेका छन् । देश जटिल मोडमा छ भन्ने थाहा हुँदाहुँदै पनि तलबभत्ता लिनु लज्जास्पद विषय हो ।
यिनीहरूले आफ्नो कोटमा सांसदको लोगो लगाएको देख्दा जनतालाई दुःख लाग्छ । छिमेकीहरू हामीलाई सिध्याएर कहाँबाट कहाँ पुगिसके । खेतीयोग्य जमिन खण्डीकरण गरेर घर र बाटो बनाउन सिकाउने को ? यो अहिले होस् या पहिलेका सांसदहरूले बुझेनन् । मुलुकलाई हरेक सामानमा परनिर्भर बनाउने को ? यसतर्फ पनि कसैको ध्यान नै गएन । हिजो खाद्यान्न निर्यात गर्ने मुलुक आज हरेक सामान आयात गर्छ ।
नेपाललाई यो अवस्थामा पुर्याउने भारत र चीन हुन् ? विकास भनेकै घर बनाउनु हो । बाटो बढाउनु र पिच गर्नु हो भनेर नेपालका नेता र दलालहरूलाई सिकाइयो । उनीहरू पनि केही सोचविचार नै नगरी त्यही बाटो हिँडे । अरुले जता देखायो त्यतै हिँड्दाको प्रतिफल आज नेपाल र नेपाली जनताले भोगिरहेका छन् । नेपालका नेतासँग त दिमाग नै छैन । भारतले आफ्नो सामान बेच्न हामीलाई सखाप बनायो भन्ने कुरा राजनीतिक दलका नेताले अझैसम्म पनि बुझेनन् ।
बाटो बनाउन चाहने हरेक सामान भारत र चीनले हामीलाई बेच्यो । घर बनाउँदा लाग्ने हरेक ससाना सामानहरूसमेत यी दुई मुलुकबाट खरिद गरियो । घर बन्यो, त्यो घरमा बस्ने मान्छेहरूले खाने खाद्यान्न पनि भारत र चीनले नै बेच्छ । छिमेकी भन्दाभन्दै देश डुबाइसक्यो भन्ने कुरा जनताले बुझिसके, तर नेताहरू बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । देशमा आर्थिक मन्दी किन छायो ? व्यापार घाटा किन बढ्यो ? देश भोकमरी लाग्ने अवस्थामा कसरी पुग्यो ? यो छर्लंग भइसकेको छ । देशमा खाद्य संकट देखिसकेको छ । अब घर भत्काएर खेती गर्ने ? सरकारले दिगो सोचाइ राखेन । जसको नतिजा हामीले अब छिट्टै भोग्ने छौं ।