विचार

सहरमा पार्टी प्यालेसले निम्ताएको बेथिति

पछिल्लो समय विवाह, व्रतबन्ध, भोजभतेर, बर्थडेलगायत पार्टी प्यालेसमा मनाइन्छ । जोकोही केही गर्नुपरेमा पार्टी प्यालेसमै पुग्छन् । पार्टी प्यालेसमा खानाको परिकारअनुसार मूल्य निर्धारण गरिएको हुन्छ । एक प्लेट खानाको १३ सयदेखि तीन हजारसम्म लिइन्छ ।

बच्चादेखि बुढासमेतले प्लेट समात्नेबित्तिकै पैसा तिर्नुपर्छ । चाहे उनीहरूले थोरै नै किन नखाओस् । सरकारले १६ वर्षमुनिका बालबालिकालाई नाबालक वा ६८ वर्षमाथिकालाई ज्येष्ठ नागरिक भन्छ । तर, पार्टी प्यालेसमा दुई वर्षको बच्चा वा ८० वर्षको वृद्धले प्लेट समाते पनि पैसा तिर्नुपर्छ । पार्टी प्यालेन्समा खानेकुराको तोकिएको मूल्य सरकारद्वारा निर्धारित होइन । यो मूल्य पार्टी प्यालेसहरू आफैंले निर्धारण गर्छन् ।

पार्टी प्यालेसमा विवाह, व्रतबन्ध, भोजभतेर गर्नेहरूसँग पैसा भने यति धेरै लिइन्छ । तर, त्यहाँ बनाएका खानेकुरा गुणस्तरहीन हुने सुनिन्छ । खसीको मासु भनेर बाख्रा बनाइन्छ, मरेका कुखुरा बनाइन्छ र सडेगलेका तरकारीहरू पकाइन्छ । सरकारले पार्टी प्यालेसमा पकाएका खानेकुराको गुणस्तर चेकजाँच गर्दैनन् । कति सरसफाइ छ भनेर पनि अनुगमन गरेको पाइँदैन । यसले पार्टी प्यालेसमा भोज खाएका अधिंकाश मानिसहरू झाडापखाला, टाइफाइटलगायत रोगको सिकार हुन्छन् । कतिपय त मर्ने अवस्थामा समेत पुग्छन् ।

अहिले जोकोही पार्टी प्यालेस व्यवसायमा निकै फाइदा रहेको बताउँछन् । फाइदा भएकाले घरपिच्छे पार्टी प्यालेस सञ्चालन गरिएको हो । पछिल्लो समय मानिसहरूले बैंकबाट ऋण लिएर, घरजग्गा बेचेर, विदेशबाट कमाएर वा अरुलाई ठगेर विवाह, व्रतबन्ध, बर्थडे, एनिभर्सरी, भोजभतेर पार्टी प्यालेसमै मनाउँछन् । कतिपयले त श्राद्ध पनि पार्टी प्यालेसमा मनाएको पाइएको छ ।

पार्टी प्यालेसमा भोज दिने मानिसले आफन्त, छरछिमेक, साथीभाइमध्ये धनीलाई मात्र बोलाउँछ । जोसँग सुनगहना, महँगो कपडा र गाडी हुन्छ, उसैलाई भोजमा बोलाइन्छ । पहिलापहिलाका मानिसहरूले जुनसुकै काम पनि आफ्नै घरबाट गर्थे । त्यसबेला कोहीको घरमा विवाह, व्रतबन्ध भए आफन्त, छरछिमेक, साथीभाइ सबैलाई निम्तो दिइन्थ्यो । सबैलाई समान व्यवहार गरिन्थ्यो । तर, पछिल्लो समय त आफ्नै छिमेकको घरमा विवाह भए पनि थाहा हुँदैन । न छिमेकलाई विवाहमै बोलाइन्छ, न राम्रो व्यवहार नै गरिन्छ ।

अहिले मानिस मरेपछि किरियापुत्री बस्ने ठाउँ पाइँदैन । कति भाडामा बस्ने भएकाले ठाउँ हँुदैन त कतिको घर भए पनि सानो भएकाले ठाउँ हुँदैन । गाउँपालिका, नगरपालिका, महानगरपालिकाले पनि किरियापुत्री बस्ने ठाउँ बनाएको पाइँदैन । जसले गर्दा मानिस मरेपछि त्यो मानिसको परिवार, आफन्तजन र नातेदारलाई किरिया बस्नसमेत सास्ती भएको छ । सरकारले अहिलेसम्म पार्टी प्यालेसमा पनि किरियापुत्री बस्न मिल्छ भनेर मापदण्ड बनाएको छ ।

अहिले विवाह, ब्रतवन्ध, भोजभतेरका लागि छानीछानी पार्टी प्यालेस पाइन्छ । तर, मानिस मरेपछि किरियापुत्री बस्नका लागि पार्टी प्यालेस पाइँदैन । मानिस जन्मिएपछि उसलाई नमरुन्जेल विभिन्न कुराको आवश्यकता पर्छ ।

पार्टी प्यालेस व्यवसायीले आफूखुसी खानेकुराको रेट तोकेर जनता ठगिरहेका छन् । तर, यसको विरोधमा राजनीतिक दलका नेताहरू कोही बोल्दैनन् । व्यवसायीहरूले सित्तैमा पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन गर्न दिने हुँदा नेताहरू चुपचाप बस्छन् । अधिकाँश पार्टी प्यालेस घना बस्ती वा बाटोको छेउमा सञ्चालन भएका छन् । यसले एकातिर ट्राफिक जाम अस्तव्यस्त हुँदा अर्कातिर पार्टी प्यालेस छेउछाउका मानिसहरूलाई डिस्टर्व भइरहेको छ ।

राजनीतिक दलका नेताकै पार्टी प्यालेसमा अधिकांश लगानी गरेको सुनिन्छ । जसले गर्दा उनीहरूले न सरकारले बनाएको मापदण्ड पालना गर्छन्, न जनतालाई सस्तो मूल्यमा सेवासुविधा दिन्छन् । पार्टी प्यालेसमा प्रयोग गरिने मदिरा नक्कली हुने बताइन्छ । त्यहाँ काम गर्ने कामदारहरूलाई खाएकै भरमा काम लगाएको पनि सुनिन्छ ।

अहिले नेपाली नागरिकमा देखासिकी बढेको छ । नेपालीहरू अहिले अरुलाई देखाउनका लागि भए पनि ऋण लिएर सुनका गहना किन्ने, भोजभतेर गर्ने, विवाह गर्नेजस्ता काम गर्छन् । केही महिनाअघि काठमाडौंको चावहिलस्थित एक व्यक्तिले एउटा सुनको सिक्रीका निम्ति एक महिलाको हत्या गरे । तर, अहिले पनि मानिसहरू घाँटी वा हातभरि सुनका गरगहना लगाएर हिँड्छन् । उनीहरूमा अहिले पनि सुनका कारण आफ्नो ज्यान जान सक्ने चेतना आएको छ । पहिलापहिला महिलाहरूले माथिदेखि तलसम्म छोप्ने कपडा लगाउने गर्थे ।

यति मात्र नभई आफ्नो जेठाजु, ससुरा वा आफूभन्दा ठूलोको अगाडि अनिवार्य रूपमा टाउको छोपिन्थ्यो । तर, अहिले समयसँगै विकृति निम्तिएको छ । महिलाहरू पार्टी प्यालेसमा जाने नाममा आफ्नो जीउ सबै देखाउने गर्छन् । परिवार, आफन्तजन वा नातेदारहरूले पनि यस्ता कपडा वा सुनगहना लगाउन नहुने भनेर भन्न सक्दैनन् । पहिला पहिलाका महिलाहरू अनिवार्य रूपमा धोतीचोलो लगाउने गर्थे । तर, अहिले त सदनमा जाँदासमेत राष्ट्रिय पोसाक नलगाई पेन्ट टिसर्ट लगाएको पाइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भर्खरै मात्र सदनमा जाँदा पेन्ट टिसर्ट लगाएको सबैलाई यादै होला । बुढापाकाले भन्थे, ‘आफ्नो थैली राम्रोसँग बाँध्नु, पछि चोरी भयो भनेर नभन्नु ।’

पछिल्लो समय दिनप्रति दिन बलात्कारका घटना बढेको छ । तर, बलात्कारमा केटा मान्छेको मात्र दोष हुन्छ र । अहिले महिलाहरू आफैं छोटा कपडा लगाएर छाडा भएर हिँड्ने गरेको पाइन्छ । जसले गर्दा पनि यस्ता घटना बढेको हो । उनीहरूले यस्ता कपडा लगाउँदा यसबाट हुन सक्ने घटनाबारे नसोच्दा समाजमा विकृति, विसंगति फैलिएको छ ।

पछिल्लो समय अधिंकाश भोजभतेर राति मनाइन्छ । पार्टी प्यालेसमा भोजभतेर गर्दा व्यवसायीले आफ्नो फाइदाका निम्ति किशोरकिशोरीलाई समेत मदिरा सेवन गराउन गर्छन् । मदिराको तालमा मातेका उनीहरूले कुन बेला के गर्छन् भनेर भन्न सकिँदैन । त्यस्तै, दोहोरो साँझ, डान्स बार, होटल, रेस्टुरेन्टहरू आदिमा पनि यस्तै हुन्छ । आफ्नो फाइदाका निम्ति व्यवसायीले युवतीको प्रयोग गर्ने गरेको कतिपयको आरोप छ ।

एउटा पार्टी प्यालेसमा व्यवसायीले तीन करोडदेखि पचास करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन् । त्यसमा पनि कति व्यवसायीको आफ्नै जग्गा हुँदा कतिले भाडामा लिएका हुन्छन् । एउटा पार्टी प्यालेसमा दिनमै तीनदेखि चारवटा कार्यक्रम हुन्छ । व्यवसायीले एक दिनमा कम्तीमा २० लाख र बढीमा ५० लाख आयआर्जन गर्ने गर्छन् । तर, व्यवसायीले लगानी र आम्दानीको राजस्व राज्यलाई तिर्दैनन् । सानो घर त्यसमाथि साँघुरो भएपछि अहिले अधिंकाश मानिसहरू जुनसुकै कार्यका लागि पनि पार्टी प्यालेस धाउँछन् । मानिसहरू बाध्यताले भए पनि पार्टी प्यालेस जानुपर्ने भएको छ ।

पहिलापहिला बेहुलाको घरबाट जन्ती लिएर बेहुलीको घर पुगिन्थ्यो । बेहुलीको घर पुगेपछि भोज खाएर बेहुलीलाई बेहुलाको घर लगिन्थ्यो । गाउँभरका मानिसहरूलाई विवाह भनेर थाहा हुन्थ्यो । उनीहरू पनि सामेल हुन्थे । तर, अहिले यसको ठिकविपरीत छ । बेहुला र बेहुला दुवैको विवाह पार्टी प्यालेसमा गरिन्छ । आफ्नै छरछिमेक, आफन्त र नातेदारलाई विवाह छ भनेर थाहा हुँदैन । यसले गर्दा हाम्रो धर्म, संस्कृति पलायन हुँदै गएको छ ।

पार्टी प्यालेसमा एउटा सानो कार्यक्रम गर्दा पाँच लाखदेखि ५० लाखसम्म लाग्छ । यति पैसा तिर्न नसक्ने मानिस आफ्नो छोराछोरीको विवाह, व्रतबन्ध गर्नेबाटै वञ्चित हुने ? पहिलापहिला केटाकेटीको सहमतिपछि धनी भएमा घरबाटै विवाह गरिन्थ्यो । तर, आर्थिक अभाव भएमा मन्दिरमा विवाह गरिन्थ्यो । घरजग्गा बेचेर वा मिटरब्याजमा ऋण लिएर कोही विवाह गर्दैनन् थिए । तर, अहिले घरजग्गा बेचेर वा मिटरब्याजमा ऋण लिएर पार्टी प्यालेसमा विवाह गरिन्छ । यसबाट अब आउने भावी पुस्ताले के सिक्छन् ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *