काठमाडौं । आमसर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्छन् । तर, पछिल्लो समय बैंकका कर्मचारीहरूले नै बचतकर्ताको रकम खाताबाटै उनीहरूलाइए थाहै नदिई गायब गर्न लागेका छन् । बैंकका कर्मचारीहरूको मिलोमत्तोमा अहिले रातारात बचतकर्ताको रकम चोरी भइरहेको छ ।
जनताले अब आफ्नो रकम कतै गडबढ त भएको छैन भनेर महिनामा दुईपटक चेकजाँच गर्नुपर्ने अवस्था आएको छ । बैंकमा आफ्नो रकम सुरक्षित रहेको भन्दै घरमा निदाएर बस्ने दिन गएको छ । बैंककै कर्मचारी लुटेरा बनेर निस्केका छन् । बचतकर्ताले विश्वासका साथ राखेको रकम उनीहरू धमाधम चोरी गायब भइरहेको छ ।
पहिलापहिला जग्गा दलाल, भूमाफिया र बिचौलियाहरूले जग्गाधनीलाई थाहै नदिई किर्ते गरेर अन्यलाई बेच्ने गरेको सुनिन्थ्यो । त्यसरी नै अहिले बजारमा केही बैंकका कर्मचारीहरूले बचतकर्ताको रकम खाताबाटै गायब पारेको सुनिन थालेको छ । सर्वसाधारण जनताले बैंक तथा वित्तीय संस्थामा विश्वास गर्ने दिनको अहिले अन्त्य भएको छ । अधिकांश नागरिक अहिले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्नबाट वञ्चित छन् । तर, अहिले बैंकमा खाता खोलेका मानिसहरूले पनि आफ्नो खाता बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बैंकका सञ्चालक र कर्मचारीहरू लोभी हुँदा पनि आज आमसर्वसाधारणको रकम डुब्ने अवस्थामा पुगेको हो । अझै पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बचतकर्तासँग घात गर्ने हो भने कोहीले पनि बचत गर्ने छैनन् । बैंकका कर्मचारीहरूले वर्षौंदेखि यस्तो गैरकानुनी काम गर्दै आएका थिए । तर, अहिले आएर मात्र बचतकर्ताले यो कुरा थाहा पाएका हुन् । साथै, बचतकर्ताहरू लामो समयसम्म बैंकमा आफ्नो रकम निकाल्न वा हाल्ने नगएमा अथवा बचतकर्ताको मृत्यु भई उसले आफ्नो आफन्त वा परिवारलाई आफ्नो बैंकमा रकम रहेको भनेर नभने बैंकका कर्मचारी र सञ्चालकले सो रकम झवाम पारिदिन्छन् ।
अहिले बैंक तथा वित्तीय संस्थामाथि विश्वास गर्ने कुनै आधार नै छैन । जनताले आफ्नो घरमा रकम चोरी हुने डरले बैंकमा बचत गरे । तर, बैंककै कर्मचारी यस्तो निस्किन्छन् भनेर कसले सोचेको थियो र ! अब सरकारले कि त बैंकका कर्मचारीलाई कारबाही गर्नुपर्छ, होइन भने आफ्नो रकम आफैं घरमा सुरक्षित राख्नुस् भनेर भन्नुपर्छ ।
सहकारीका सञ्चालक र कर्मचारीका कारण आज करोडौं बचतकर्ताको बिचल्ली भएको छ । उनीहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अहिले बजारमा बैंक पनि डुबेको हल्ला चलेको छ । जसले गर्दा आमसर्वसाधारणले बैंकमा बचत गर्न छोडेका छन् । अहिले विस्तारैविस्तारै जनताले बैंक तथा वित्तीय संस्थाामाथिबाट आफ्नो विश्वास गुमाइसकेका छन् । उनीहरूले थाहा पाइसकेका छन् कि बैंकका कर्मचारीदेखि सञ्चालक मनी माइन्डेड भएका छन् ।
सहकारीका सञ्चालकदेखि बैंकका कर्मचारी, चेयरम्यानहरू अहिले बचत फिर्ता माग्न जाँदा एउटै जवाफ दिन्छन्, ‘हाम्रो कर्जा लगानी घर, गाडी र सेयरमा छ । अहिले यसको कारोबार ठप्प भएको हुँदा समस्या परेको हो । तर, बिक्री हुनेबित्तिकै तपाईँहरूको रकम फिर्ता गर्छाैं ।’
के हिजो बचतकर्ताले आफ्नो रकम घरजग्गा, गाडी र सेयरमा लगानी गर्न भनेर जम्मा गरेका थिए ? उनीहरूले थोरै भएपनि ब्याज आउने प्रलोभनमा बचत गरे । तर, थोरैको लोभ गर्दा आज जीवनभरको कमाइ गएको छ । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढोस् कि घटोस्, यसको मतलब बचतकर्तालाई छैन । तर, बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीहरू यसको मूल्य घटेको हुँदा बचत फिर्ता गर्न नसकेको बताउँछन् । अब यसको मूल्य कहिले बढ्ने र कहिले उनीहरूले बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने ? अहिले यसको ठेगान छैन ।
सरकारले च्याउ उम्रिएझैं बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दियो । सरकार करको लोभमा पप्यो । अनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सञ्चालकको आँखा बचतकर्ताको रकममाथि पप्यो । जसले गर्दा आज उनीहरूले करोडौं बचतकर्ताको रुवाबासी बनाइदिए । बैंकहरूले यस्तो लापरबाही गरेर बचतकर्ताको रकम डुबाइदिँदासमेत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मौन छन् । बचतकर्ताको रकम सहकारीले खाइदिँदासमेत सहकारी मन्त्री रञ्जिता श्रेष्ठ चुपचाप छिन् । सहकारीपीडित बचतकर्ताहरू अहिले माइतीघर मण्डलामा धर्नामा छन् ।
त्यसरी नै अहिले बैंकका पीडित बचतकर्ताहरू पनि बैंकको यस्तो रबैयाविरुद्ध आन्दोलन गर्ने तयारीमा छन् । बैंकबाटै बचतकर्ताको रकम चोरी हुन्छ भनेर सुन्दा सर्वसाधारण जनता चिन्तित बनेका छन् । केही दिनअघि विभिन्न बैंकमा बचत गरेका बचतकर्ताको खाताबाटै रकम गायब भएको कुरा बाहिरिएको थियो । माछापुच्छ«े बैंक, प्रभु बैंक, सिन्धु बैंक, एभरेष्ट बैंकलगायतमा खाताबाटै लाखौं रकम हराएको बचतकर्ताको आरोप छ । त्यसैले, अब बचतकर्ताहरू बैंकमा रकम सुरक्षित छ भनेर ढुक्क भएर बस्नुहुन्न । समय समयमा बैंकमा आफ्नो रकम सुरक्षित छ कि छैन भनेर चेकजाँच गर्न आवश्यक परिसकेको छ ।
सहकारीहरूले कसरी बचतकर्ताको खाताबाटै रकम गायब बनाउँछन् भनेर भन्नुपर्दा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका बचतकर्ताको कुरा सुन्दा स्पष्ट हुन्छ । सिन्सियरका बचतकर्ता त आफ्नो रकम खाताबाट गायब भएको भन्छन् नै, तर धितो राखेर ऋण लिएका ऋणीसमेत तिरेको किस्ता खाताबाटै हराएको बताउँछन् ।
आफूले महिनामहिनामा ऋणको किस्ता तिरे पनि साँबाव्याज नघटेको र तिरेको रकमसमेत खाताबाटै गायब भएको उनीहरूको आरोप छ । बैंक तथा वित्तीय संस्थाको लुटतन्त्र खुलेआम छ । उनीहरूले बचतकर्ता र ऋणीको आँखामा दिउँसै धुलो हालेका छन् । रातलाई दिन बनाएर ठगेका छन् । अहिले पनि अधिकांश मानिस अशिक्षित छन् । उनीहरूले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर बचत त गर्छन् । तर, कुन मितिमा कति रकम राखेको भनेर थाहा पाउँदैनन् ।