काठमाडौं । २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअगाडि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका थिए, ‘चुनावको नतिजा आउनेबित्तिकै देशको प्रधानमन्त्री म हुँ ।’ उनले भोट माग्नका लागि रणनीति गरेको भन्दै उनीहरूले घुमाउरो भाषामा भनेका थिए ।
केही दिनअघि एउटा कार्यक्रममा उनले भने, ‘१० सिटेले डेढ वर्ष प्रधानमन्त्री खाने भयो ।’ उनले त्यही १० सिटेको कार्यकर्ताले आफूलाई मतदान गरेको बिर्सिए । चुनाव जितेपछि थापाले भने, ‘माओवादीलाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख दिनु हुँदैन ।’ सबै कांग्रेसले लिनुपर्ने उनको माग थियो । त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्न एमालेका अध्यक्ष केपी ओलीसँग हात मिलाउन बालकोट पुगे । तेस्रो दल भए पनि प्रचण्डले गठबन्धन छोडेर ओलीसँग सम्झौता गरे ।
‘प्रधानमन्त्री मलाई र अन्य पद आफैं राख्नु’ भनेर उनले ओलीसँग हात मिलाए । त्यसपछि गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नै गाली गर्न थाले । सबैतिरबाट च्याप्न थाले । देउवाकै कारण सबै पद गुमेको भन्दै उनले गाली गर्न थाले । देउवाले कसैलाई गाली नगरिकन २०७९ पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिए । थापा पछि देउवाकै लाइनमा उभिएर प्रचण्डलाई मत दिए ।
कांग्रेसले प्रचण्डलाई भोट हालेपछि आगो भएका ओलीले सदनमा उभिएर भने, ‘कांग्रेसले माछा नभएको दहमा जाल हान्यो ।’ उनको घमण्ड केही समयमै चकनाचुर भयो । प्रदेशमा सबै एमालेको सरकार बनिसकेको थियो । संघमा सभामुख पनि एमालेले पाइसकेको थियो । तर, देउवाले सबै उलुटपुलट बनाइदिए । राष्ट्रपति कांग्रेसले पायो । अहिले कांग्रेस सरकारमा छ । प्रदेश सरकारमा पनि कांग्रेस नै आयो ।
सर्वसाधारणले कांग्रेस सकियो भन्न थालिसकेका थिए । तर, देउवाले त तीन महिनाभित्रै आफ्नो पार्टीलाई ठाउँमा ल्याए । थापाले एउटा कुरा के बुझ्नुपर्छ भने बोल्नेभन्दा गर्ने ठूलो हुन्छन् । थापाले देउवासँग सिक्नुपर्ने धेरै कुरा छन् । बोल्दैमा देश चल्दैन, पार्टी अगाडि बढ्दैन् भनेर बुझ्नुपर्छ ।
थापा अहिले पार्टी सभापति देउवालाई पाखा लगाएर कांग्रेस आफ्नो हातमा लिन जोडबल गरिरहेका छन् । तर पनि कांग्रेसका पुराना नेताहरू मौन छ । हिजो जनताका लागि आवाज उठाएका, बलिदान दिएका नेताहरू आफ्नो हकका लागिसमेत बोल्न सकिरहेका छैनन् । उनीहरू थापाको अगाडि निरीह नै बनेका हुन् त ?
कडा स्वभावका थापाले पार्टी सभापति देउवालाई राम्रोसँग पार्टी नचलाएको भन्दै थर्काएको थर्काएै गर्छन् । उनले प्रधानमन्त्रीमा आफ्नो आवश्यकता भएको बताउँदै आएका छन् । उनले भन्ने गरेका छन्, ‘बुढालाई घरमा थन्काउनुपर्छ, युवालाई मौका दिनुपर्छ ।’ हिजो यो व्यवस्था ल्याउने बेलामा ती बुढा नेता पनि युवक नै थिए । युवा हुञ्जेल देश र जनताका लागि भूमिगत जानु, अनि बुढेसकालमा घरमा गएर थन्किनुपर्ने हो ?
पुराना नेताहरूले चप्पल नलगाएर, रातदिन घरघर पुगेर खडा गरेको संगठन हो कांग्रेस । त्यतिबेलाको अवस्थामा पार्टी खडा गर्न निकै चुनौतीपूर्ण थियो । कतिले ज्यान गुमाए । कतिले आफ्नो घरव्यवहार बिगारे । कति आज पनि विवाह नै नगरिनकन बसेका छन् । कति वर्षौं जेल बसे । देशमा जनआन्दोलन हुने बेलामा थापा युवक भइसकेका थिए । राजनीतिक परिवर्तनका क्रममा धेरैले आफ्नो परिवार गुमाए । थापाले त कोही पनि गुमाउनुपरेन ।
आफ्नो पीडा बिर्सिएर देश बनाउन हिँडेकामाथि अहिले आएर हिलो छ्याप्नु गलत हो । २०७९ मंसिर ४ गतेको चुनावमा सभापति देउवाले पाँच दलसँग गठबन्धन नगरेको भए कांग्रेस सखाप हुन्थ्यो । कांग्रेसलाई १० सीट ल्याउन पनि हम्मेहम्मे थियो । पहिलो पार्टी एमाले नै बन्थ्यो । उनले गठबन्धन गरेर ८९ सीट ल्याए र कांग्रेसलाई पहिलो पार्टी बनाए । सभापति देउवाले बेलैमा दिमाग लगाउँदा मात्रै थापाको जित सम्भव भएको हो ।
गठबन्धनमा नगएको भए थापाले चुनाव नै लड्दैनथें । लडे पनि जनताले पत्याउँदैनथें । पाँच दलको कार्यकर्ताले भोट दिएर उनले चुनाव जितेका हुन् । आफू सत्तामा पुग्नका लागि उनले कोठे राजनीति गरेको त प्रस्टै छ । अर्को महाधिवेशनमा सभापति देउवालाई छिचोलेर संसदीय दलको नेता बन्ने तयारीमा छन् उनी । उनले स्वास्थ्यमन्त्री हुँदा अकूत सम्पत्ति जोडेको आरोप छ ।