काठमाडौं । अभिभावक गलत हुँदा घर तहसनहस भएको धेरै उदाहरण छन् । बाबुआमा सही नहुँदाको असर छोराछोरीमा पर्छ । सही बाटो देखाउने ठूला मान्छे नहुँदा स–साना बालबालिका गलत बाटो हिँड्छन् । राष्ट्र पनि त्यस्तै हो । नेतृत्व सही नहुँदाको असर आज सारा नेपाली जनताले भोगिरहेका छन् । देशका नेताहरू कतिसम्म झुटा छन् भन्ने पछिल्लो घटनाले स्पष्ट पारिसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल सामान्य रोगको उपचार गराउनसमेत भारत पुगे । त्यहाँ लागेको लाखौं खर्चको भार राज्यकोषमा पर्ने भएपछि सर्वत्र विरोध भयो । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राज्यकोषबाट एक रुपैयाँ पनि नलिने जानकारी गरायो । पौडेलले आफूलाई उपचार गर्दा लागेको उपचार खर्च आफैंले व्यहोर्ने भनेपछि जनताले पत्याए । तर, उनले राज्यकोषबाट उपचार खर्च लिन अर्थ मन्त्रालयमा पत्र पठाएका छन् ।
अधिकांश जनता रोग पालेर बसेका छन् । अस्पताल जाने खर्चसम्म उनीहरू छैन । मर्ने दिन कुरेर जनता बस्नुपरेको छ । सामान्य ज्वरो आउँदा नेताहरू देशविदेश पुग्छन्, तर जनताको पीडादायी अवस्था यिनीहरू देख्दैनन् । नेताहरूको उपचारको नाममा वर्षेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ । त्यो पैसाले देशमै राम्रो अस्पताल खोलिदिँदा सबैले सेवा पाउँथें ।
नेताहरूले जुन पैसा उपचारको नाममा देशविदेश पुगेर उडाएका छन्, त्यो नेपालीको रगतपसिनाको कमाइ हो । उनीहरूले खुट्टामा चप्पल नलगाई तिरेको कर हो । खाडीको चर्को घाममा दश नङ्ग्रा खियाएर पठाएको रेमिट्यान्स हो । नेपालीले तिरेको करमा मोजमस्ती गर्न यिनीहरूले रजगज गरेका छन् ।
राष्ट्रपति भनेको देशको प्रमुख हो । सारा जनताको अभिभावक राष्ट्रपति हुन्छन् । राष्ट्रपतिको जिम्मेवारी देश र जनता जोगाउनु हो । आफू मरेर पनि देश र जनताको संरक्षण गर्न सक्नुपर्छ राष्ट्रपतिले । तर, हाम्रो देशको हकमा राष्ट्रपतिको अर्थ नै छुट्टै छ ।
राष्ट्रपति पौडेल पैसाको लागि यति लोभी रहेछन् कि के भन्ने ? यस्ता लोभीले भोलि देश बेच्न पनि बेर लगाउँदैन् । मुलुकको आर्थिक अवस्था डामाडोल छ । बजारमा पूरै मन्दी छाएको छ । विदेशी ऋण बढेको बढ्यै छ । मुलुकमा देखिएको आर्थिक संकटलाई कम गर्नुको साटो बढाउनतर्फ लागेका छन् राष्ट्रपति पौडेल । यस्तो जटिल अवस्थामा त उनले आफूले लिइरहेको तलबभत्ता छाड्न सकेनन् भने जनताका लागि के गर्न सक्छन् भन्ने प्रश्न उब्जेको छ । राजनीतिमा प्रवेश गरेपछि उनी गृहमन्त्रीदेखि सभामुखसम्म भए ।
देशको अवस्था सबैले देखेका छन् । तर, पनि अनदेखा गरिरहेका छन् । राज्य उठाउन सरकारले सकिरहेको छैन् । लक्ष्यअनुसार राजस्व उठेको छैन । सहकारी भागेर जनता सडकमा आउन बाध्य छन् । ऋण तिर्न नसकेर ऋणीहरूले आत्महत्या गरिरहेका छन् । देशमा बेरोजगारी बढेको बढ्यै छ । जनतालाई बिहान खाए, बेलुका के खाऊँ भन्ने छ । यस्तो जटिल अवस्थामा समेत उच्चपदस्थहरूले तलबभत्ता छोड्न सकेका छैनन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह हुन् या पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी । भूपूमन्त्रीहरू होस् या कर्मचारी, कसैले आफ्नो तलबभत्ता र सेवासुविधा छोड्न सकेका छैनन् । विदेशीबाट मागेर सरकारी खर्च धान्नुपरेको छ । अहिलेसम्म देश धितो राखेर यिनीहरूले खाइरहेका छन् ।
अहिले चोरहरूको बिगबिगी छ । जताततै चोरी भएका घटना मात्रै सुनिन्छ । यसरी चोरी बढ्नुको कारण के ? राज्यमा बस्नेहरूलाई यो कुरा थाहा नहोला । बजारमा महँगीले सीमा नाघेको छ । आमसर्वसाधारणको ढाड सेकिएको छ । खाद्यान्नको मूल्य आकाशिँदा आमसर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि मुस्किल परेको छ । काम भएकाले पनि तलब पाउन सकेका छैनन् । संघसंस्थाले धमाधम कर्मचारीहरूलाई हटाइरहेका छन् । अब झनै राजस्व उठ्दैन् । विदेशीसँग लिएको ऋण अब सरकारले कसरी तिर्छ ? खानलाई दाना छैन भने कसले कर तिर्छ ?
सरकारले अझै पनि सरकारी खर्च कटौती गरेको छैन । न तलबभत्ता कटौती गरेको छ, न पेन्सन । विभिन्न शीर्षकमा दिइने भत्ता पनि यथावत् नै छ । भोलि चुनाव हारिन्छ भनेर सरकार हात बाँधेर बसेको छ । देशको ढुकुटी रित्तिसकेको छ भन्ने कुरा सबैलाई थाहा छ ।
सात दशकअघि नेपाल टाढासम्म फैलिएको थियो । तर, छिमेकीहरूले नै हाम्रो भूभाग कब्जा गरे । नेपाल सानो मुलुक बन्यो । यही बाँकी भएको नेपालको मायासमेत कसैलाई लागेन । विदेशीको नाममा धितो राखेर ऋण लिने अनि तलबभत्ता खाने । सरकारी कर्मचारी, सुरक्षाकर्मी, नेतालगायत सबैले देश धितो राखेर लिएको ऋणबाट तलबभत्ता खाएका छन् ।
देशलाई यो अवस्थामा लैजाने को हो ? घामजस्तै छर्लंग छ । देशमा विदेशी हस्तक्षेप बढाउने नेता र सरकारी कर्मचारी हुन् । सच्चा जनता खान नपाएर आज आत्महत्या गरिरहेका छन् । सरकारी कर्मचारी भने देशका लागि ‘सर्प’ साबित भएका छन् । सेवासुविधा लिए, काम गरेनन् ।