विचार

ठूला हत्याकाण्डको छानबिन कहिले हुन्छ प्रधानमन्त्रीज्यू ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सर्वसाधारणले मदन भण्डारीको रहस्यमय मृत्यु र दरबार हत्याकाण्ड छानबिन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । यसका लागि प्रधानमन्त्रीले तत्काल छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको माग छ । भण्डारीको निधनपछि एमालेले धेरैपटक मुलुकको नेतृत्वको जिम्मेवारी सम्हाल्यो ।

एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री भए । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी आफैं पनि राष्ट्रपति भइन् । तर, अहिलेसम्म हत्यारा पक्राउ परेन । जसकारण प्रश्न एमालेमाथि नै तेर्सिएको छ । यो घटना अझै पनि रहस्यमय नै छ । एमाले बारम्बार सरकारमा त गयो, तर उक्त घटनामाथि छानबिन गर्न चासो देखाएन । न कुनै समिति नै गठन गरियो । उनका ड्राइभर अमर लामालाई पनि गोली हानेर मारियो । आफ्नो ज्यान असुरक्षित भएको बताउँदै आएका उनी २०६० साउन १२ गते डिल्लीबजारबाट अपहरणमा परे । उनलाई कीर्तिपुरमा लगेर गोली हानेर मारिएको हो ।

लामाको मृत्युमाथिको पर्दा अहिलेसम्म पनि खुल्न सकेको छैन । लामालाई कसले मारेको हो भन्ने गम्भीर प्रश्न उठेको छ । माओवादीले मारेको थियो भने त्यसको जिम्मा लिनुपथ्र्यो । अन्यले मारेको थियो भने सरकारले अहिलेसम्म पक्राउ गर्नुपथ्र्यो । तर, यो विषय गुमसुम पारियो । लामा एउटा प्रमाण थिए, त्यो पनि सिध्याइयो । लामा मर्नेबित्तिकै भण्डारीका हत्याराहरू बचे । योजनाकारहरू बच्न सफल भए ।

२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको सन्तान नै सखाप पारियो । राजाको परिवार सकाउनेलाई सरकारले अहिलेसम्म बाहिर ल्याउन सकेको छैन । राजाजस्तो व्यक्तिको हत्यारालाई पक्राउ गर्न नसक्नुले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा भएको छ । यो सानो घटना थिएन । राजाको वंश नै मासियो । दरबारजस्तो सुरक्षाले घेरिएको ठाउँमा यत्रो हत्याकाण्ड भयो । यो पूरै योजनाका साथ गरिएको हत्या हो भन्ने स्पष्ट छ । तैपनि सरकारले अपराधी खोज्न सकेको छैन ।

प्रहरी प्रशासन मुलुकमा घटेको यति ठूलो घटनामा समेत हात बाँधेर बसेको छ । देशले असल नेतृत्व गुमायो । मुलुकलाई ठूलो घाटा भयो । विडम्बना, सरकारले उनीहरूका हत्यारालाई कानुनको कठघरामा उभ्याउन सकेन । नेपाल प्रहरीसमेत यी घटनालाई टुंगोमा पुर्याउन असफल रह्यो । जसले गर्दा प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्न उठेको छ । बाटो हिँडिरहेका निर्दोष व्यक्तिलाई झ्यापझ्याप समातेर थुन्ने प्रहरीले दोषीलाई किन कारबाही गर्न सकेन ? यहाँ पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ भएको छ । गल्ती नै नगरेका व्यक्तिहरूले प्रहरीका कारण जेलजीवन बिताइरहेका छन् । तर, दोषी भने निस्फिक्री घुमिरहेका छन् । भुरादेखि बुढासम्मले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् ।

सरकारले अहिले ठूल्ठूला अपराधमा छानबिन गरिरहेको छ । यही मौकामा सरकारले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा खोज्नुपर्छ । उनीहरूलाई लुकाउन पाइँदैन । प्रहरी प्रशासनले फरार अभियुक्तलाई पक्राउ गरेको भनी दिनहुँ सार्वजनिक गरिरहेको हुन्छ । वर्षौंदेखि फरार रहेकालाई पक्राउ गर्यौ भनेर प्रहरी आफैंमाथि गर्व गर्छ । तर, दरबारमा भएको हत्या किन खोताल्न सकेन ? दरबारमा एकजनाको होइन, पूरै परिवारको हत्या भएको छ । प्रहरीले अहिलेसम्म अभियुक्तलाई किन सार्वजनिक गर्न सकेन ? किनकि प्रहरी आफैं पनि यो घटना खोतल्न चाहँदैन । राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारालाई पक्राउ गर्नुपर्छ भनेर जनताले पटकपटक माग राख्दा पनि कतैबाट सुनुवाइ हुनसकेको छैन । सदनमा कुनै पनि राजनीतिक दलका सांसदहरूले यस विषयमा आवाज उठाएका छैनन् ।

एमालेका सांसदहरू पनि यसबारे मौन छन्, किन ? एमालेलाई जनतामाझ भिजाउन ठूलो भूमिका खेलेका आफ्ना नेता भण्डारीलाई मार्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर कोही बोलेका छैनन् । सत्ताका लागि मात्रै लडिरहेको हुन्छ एमाले । बिना काम सदन अवरोध मात्र गर्छन् । राप्रपाका नेतासमेत यस विषयमा चुपचाप नै छन् । सबैजना मिलेर घटना ढाकछोप गरिरहेका छन् भन्ने आशंका छ ।

राजाजस्तो व्यक्तिले त न्याय पाउँदैन भने जनताले के न्यायको अनुभूति गर्न पाउँछन् ? देशको शान्ति सुरक्षाको अवस्था के छ ? यो पनि प्रमाणित भयो । प्रहरी प्रशासनलाई जनताको प्रश्न, ‘जहिले सानाले मात्रै सजाय भोग्नुपर्ने हो ?’ ठूलाले जे गरे पनि हुने, कस्तो चलन हो यो ? उनीहरूले भ्रष्टाचार गरुन् या मान्छे मारुन्, कानुन लाग्दैन् । कि उनीहरूलाई थुन्ने जेल छैन ।

राजा वीरेन्द्र र नेता भण्डारीको हत्याकाण्डमा सरकारले छानबिन समिति नै गठन गरेको छैन । कारण के हो ? यसको जवाफ सरकारले दिनुपर्छ । सर्वसाधारण मर्दासमेत चासोका साथ हेरिन्छ । उनीहरू त जनताको राजा, जनताको नेता । तैपनि घटना लुकाइछिपाइ गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले राजा वीरेन्द्र र नेता भण्डारीका हत्यारालाई तत्काल समात्नुपर्छ । तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । देशमा यो व्यवस्था ल्याउनुको उद्देश्य के हो ? यो कुरा प्रधानमन्त्रीले बिर्सिएजस्तो छ ।

जनयुद्ध सुरूपछि १७ हजार नेपालीले ज्यान गुमाए । तर, उपलब्धि के हात लाग्यो ? अपराधीलाई छोड्दिन, देशको विकास गर्छु, विदेशी हस्तक्षेप हुन दिन्न, जनताको शासक होइन्, सेवक बन्छु भनेर उनले हिजो हतियार उठाएका थिए । उनी तीनपटक मुलुकको प्रधानमन्त्री भए । तर, जनताले परिवर्तनको महसुस गर्न पाएनन् । बरु, उनको जिन्दगीमा धेरै परिवर्तन भयो । हिजो दौरासुरुवालको विरोध गर्ने उनी आज आफैं दौरासुरुवाल लगाउँछन् । उनका पार्टीका नेता नै ठूल्ठूला अपराधमा मुछिएका छन् । दौरासुरुवाल लगाउन १७ हजार नेपाली मार्नुपर्दैनथ्यो, होला ? त्यतिबेला राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो ।

तर, नेपाली सेना नै चुपचाप बसेको छ । यसले त सबैले मिलेमतो देखाएको छ । यहाँ त ‘तैं चुप, मै चुप’ भइरहेको छ । राजा वीरेन्द्र र नेता भण्डारीका लागि जनताले नै सरकारलाई दबाब दिनुपर्ने देखिएको छ । मारिएको व्यक्ति मरेको मर्यै हुन्छन्, उनीहरूले न्याय पाउने रहेनछन् भन्ने त प्रमाणित भइसकेको छ । जनताले उठाएको प्रश्नको जवाफ सरकारले दिनैपर्छ । होइन भने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ । सरकारमाथि जनताले लगाएको आरोप सरकारले काम गरेर मेटाउन सक्नुपर्छ ।

२०५० पछि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, खिलराज रेग्मीलगायत थुप्रै प्रधानमन्त्री आए र गए । तर, राजा वीरेन्द्र र नेता भण्डारीको हत्यालाई किन समातिएन ? यसको जवाफ उल्लेखित सबैले दिनुपर्छ । सबै मिलेर घटनालाई झिसमिस बनाउने काम भएको छ । राजा वीरेन्द्रको हत्यापछि उनकै भाइ ज्ञानेन्द्र राजा भए ।

भण्डारीको मृत्युपछि उनकै श्रीमती विद्यादेवी भण्डारी पटकपटक मन्त्री भइन् । राष्ट्र प्रमुख भएरसमेत काम गर्ने मौका पाइन् । यद्यपि उनले नै छानबिनमा चासो देखाइनन् । राजा वीरेन्द्र जनताले रुचाएका राजा थिए । नेता भण्डारी त जननेताकै रूपमा चिनिन्छन् । यस्ता व्यक्तिको हत्यारा खोज्न नसक्नुभन्दा लाजमर्दो विषय के होला ? अब सरकारले हत्यारालाई कानुनको दायरामा ल्याउनुपर्छ । जुनसुकै पार्टीको सांसद भए पनि यो कुरा उठाउनैपर्छ । राजा र नेता हुनुभन्दा अगाडि उनीहरू नेपाली नागरिक हुन् । नागरिकको हत्यारालाई सरकारले छोड्नुहुँदैन । नेपालीले आफ्नो राजा र नेताको हत्यारा खोजिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *