विचार

प्रकृतिमाथि मनपरी गर्दा निम्तिएको विपद्, तैपनि खुलेन सम्बन्धित निकायको चेत

काठमाडौं । तीन दशकअघि काठमाडौं उपत्यकामा ढुंगेधारा, कुवा, तालपोखरी, चौतारी, पार्टी पौवा प्रशस्त थियो । उपत्यका बाहिरका जिल्लामा पनि ढुंगेधारा, कुवा, तालपोखरी थुप्रै थिए । नुहाउन, लुगा धुन सर्वसाधारण त्यही जान्थे । अधिकांशले खानेपानी पनि ढुंगेधाराबाटै ल्याउने गरेका थिए ।

पुरातत्व विभागले यसअघि गरेको अनुसन्धानअनुसार उपत्यकामा ६३४ वटा ढुंगेधारा थियो । कुवा, तालपोखरीको त हिसाब नै गरिएको छैन । विभागले यतिवटा भने पनि उपत्यकाको तीन जिल्लामा योभन्दा धेरै ढुंगेधारा थिए । तर, अहिले ती ढुंगेधारा कहाँ छन् त ? उपत्यकाबासीले ढुंगेधारा बिर्सिन थालिसकेका छन् । कहीँकतै ढुंगेधारा देखिँदैन, न त कुवा र तालपोखरी । सबै मासिसकेको छ । त्योसँगै खोला, कुलोहरू पनि मासियो । खोलामाथि ढलान गरेर बाटो र घर निर्माण गरिएको छ । तालपोखरी सिध्याएर आवासीय क्षेत्र बनाइएको छ । सबैतिर ढलान गरेपछि जमिनबाट फुट्ने मूल पनि रोकिएको छ ।

आकाशबाट परेको पानी जमिनले सोस्दै आएको थियो । अहिले त्यो पनि रोकिएको छ । सबैतिर पिच गरिएको छ, कहाँबाट पानी जमिनले सोसोस् ? पछिल्लो समय मुलुकमा पानीको हाहाकार हुँदै गएको छ । जलस्रोतको दोस्रो धनी मुलुक भनिएको नेपालमा स्रोतहरू सुक्दै गएको छ । प्रकृतिमाथि छेडखानी गरेको परिणाम अहिले सबैले भोग्नुपरेको छ । बर्खामा सबैतिर डुबान हुन्छ, हिउँदमा पानी नपाएर सकस । आकाशबाट परेको पानी जाने ठाउँ नभएपछि बर्खामा उपत्यका डुबानमा पर्ने गरेको छ । सानो पानी पर्दासमेत सडकको माथिमाथिसम्म पानी जम्मा हुन्छ । अन्य जिल्लाको अवस्था पनि त्यस्तै छ । ढलहरू साना छन् । आकाशको पानी जाने ठाउँ छैन । खोलानाला सबै मासिसकेका छन् । माथिबाट आएको पानीले पूरै उपत्यका नै डुबाउँछ । तैपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । बर्खाको समयमा समेत ढल खोलेर राखिदिन्छन् ।

मर्मतको नाममा खाल्डाखुल्डी खनेर त्यतिकै छोडिदिन्छन् । सडकहरूमा ठूल्ठूला भ्वाङ पारेर छोडिएको छ । सरकारले जनता मार्नलाई पासो थापेझैं भएको छ । कहाँ खाल्डाखुल्डी छ थाहा हुँदैन । सरकारको लापरवाहीका कारण धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । हालै मात्र सामाखुसीमा एकजना बालकको स्ल्याब खोलेको ठाउँमा पर्दा मृत्यु भएको थियो । उनको शव ११ दिनपछि भेटिएको थियो । जोरपाटीमा पनि केही वर्षअघि एउटी किशोरीले ज्यान गुमाइन् ।

भक्तपुरको घलातेमा एकजना टिपर चालक ढलमा परेका थिए । पानीको गहिराइ नाप्न पुगेका चालकलाई ढलले बगायो । धेरै दिनको खोजीपछि उनको शव फेला परेको थियो । हरेक वर्ष यस्ता घटना दोहोरिरहन्छन् । तैपनि लापरवाही किन ? काठमाडौं ठूल्ठूला कान्ला, पाटा भएको जिल्ला हो । भिरालो ठाउँलाई सम्याएर घर बनाइयो । भिरालो हुँदा सबै पानी तल आउँथ्यो । पानी खेतबारीले नै सोस्थ्यो । जग्गा माफियाहरूले सबै भीरपाखालाई सम्मो बनाएर प्लानिङ गरे । पानी गएर त्यहीँ जमिदियो, जसकारण उपत्यका डुबानमा पर्न थाल्यो ।

ढलको पाइप पनि सानो हालिएको छ । बस्ती ठूलो हो, ढलको पाइप सानो । त्यत्रो पाइपले कसरी धान्छ ? खोलालाई अतिक्रमण गरेर घर बनाइयो । खोलाको दायाँबायाँ भएको सरकारी, गुठीको जग्गा सबै कब्जा गरिएको छ । खोला कतिखेर बढ्छ ? कसलाई के थाहा । खोलाले नै ज्यान लिन सक्छ ? भनेर कसैले सोचेका छैनन् । जसरी हुन्छ सरकारको सम्पत्ति कब्जा गर्नतर्फै लागिपरेका छन् । भुइँचालो, बाढीपहिरोलगायत प्राकृतिक विपद् अचानक आउँछ । कुन साल कत्रो विपद् आउँछ कसलाई के थाहा ? प्रकृतिमाथि छेडखानी गर्नु आफैंलाई हानीनोक्सानी पु¥याउनु हो भन्ने थाहा हुँदाहुँदै पनि हेलचेक्र्याइँ गरिएको छ ।

डुबानलाई नै मुख्य एजेण्डा बनाएर कतिपयले चुनाव जिते । नारा यही लगाए, भोट मागे, जनताले पनि होला भनेर दिए । तर, समस्या समाधान भएन । होस पनि कसरी ? जहाँ मनलाग्यो त्यहीँ घर बनाएको छ । खोलामाथि ढलान गरेरसमेत घर बनाएका छन् । अनि आकाशबाट परेको पानी कहाँ जान्छ ? यति सामान्य कुरा पनि नबुझेका हुन् कि बुझ् पचाएका, ठम्याउनै गाह्रो छ । आफ्नो व्यक्तिगत फाइदाका लागि यहाँ खोला जाने ठाउँ नै रोकिदिएका छन् । खोलामा ढल ल्याएर मिसाएका छन् ।

केही दिनअघिको अविरल वर्षाका कारण उपत्यकाका तीन जिल्ला जलमग्न बन्यो । खोला भरिएर अधिकांश क्षेत्र पूरै डुबेको थियो । घरभित्रैसम्म पानी पस्यो । उपत्यकामै बाढी आयो । झन् कपन एरिया त ‘पानी पानी’ भएको थियो । कपन हरेक वर्ष डुबानमा पर्छ, योपटक मात्र होइन । डुबानमा पर्ने समस्यालाई समाधान गर्छु भनेर गगन थापा पटक–पटक जनताको घरमा गए । जनताले पनि होला त नि भनेर भोट दिए । उनी स्वास्थ्यमन्त्रीसमेत भए । हरेक वर्ष पानी पर्नेबित्तिकै त्यहाँको स्थानीयको निद्रा भाग्छ । थापाले गरेको प्रतिबद्धता अहिले काठमाडौं महानगरपालिकाले पूरा गर्न थालेको छ । महानगर प्रहरीको टोली कपनको खोला पुरानै स्वरूपमा फर्काउन थालेको छ । केही व्यक्तिले आफ्नो फाइदाका लागि कपन खोला नै मिचेका थिए । महानगरले धमाधम त्यो खोताल्न थालेको छ ।

अझै पनि म देशको प्रधानमन्त्री बन्छु भनेर हिँड्नु लाजमर्दो कुरा हो । सबै महानगरले गर्ने हो भने अन्य प्रतिनिधि किन चाहियो ? आश्वासनको पछाडि लागेर देश बन्दैन, बनाउने दृढ इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । जनताका प्रतिनिधि भनिएकाहरू आफ्नै स्वार्थको पछाडि दौडिएपछि देश कसरी विकास हुन्छ ? नेता, सांसद, जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा गरिदिने हो भने यस्ता समस्या समाधान हुन बेर लाग्दैन । तर, यहाँ सबैको ‘देखाउने र चपाउने दाँत’ छुट्टाछुट्टै भयो । हाम्रो मुलुकमा राहत बाँड्न हतारो हुन्छ, तर समस्या समाधानतर्फ कसैको ध्यान जाँदैन । हरेक वडामा वडाध्यक्ष छन्, हरेक नगरपालिकामा मेयर । हरेक क्षेत्रमा माननीय छन् । यद्यपि सबै अनदेखा गर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *