रिबन

चाडबाडको नाममा फैलिएको विकृति कसले रोक्ने ?

काठमाडौं । करिब दुई वर्षअगाडि काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालित पार्टी प्यालेन्स तीज आउनु एक महिनाअगाडि नै भरिभराउ हुन्थ्यो । दर खाने, नाचगान गरिने कार्य भइरहन्थ्यो । त्यतिबेला सहकारी संघसंस्थाले पनि पार्टी प्यालेसमा दर खाने कार्यक्रम आयोजना गर्ने गर्थे । यसरी दुई वर्षअगाडिसम्म तीज आउन महिनौं दिन बाँकी हुँदासमेत दर खान पार्टी प्यालेन्स भरिभाउ हुने गरेकोमा यस वर्ष तीज आउन एक महिना मात्रै बाँकी हुँदासमेत पार्टी प्यालेस सुनसान देखिन्छ ।

अहिले पार्टी प्यालेसमा न दर खाने छन्, न तीजका भिडियोहरू सुपिङ गर्ने नै । पछिल्लो समय पार्टी प्यालेस सुनसान देखिनुको कारण आर्थिक मन्दी हो । सहकारीहरू अधिकांश समस्याग्रस्त भएकाले पार्टी प्यालेस व्यवसाय ठप्प भएको हो । सहकारीहरूले जनतालाई ठगुञ्जेल यस्ता कार्यक्रम आयोजना गरे । तर, जब सहकारीमाथिबाट आमनागरिकको विश्वास गुम्यो, तब सहकारीहरू भाग्न थाले ।

सहकारीहरूले बचत तान्न ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, भ्रमणमा लैजाने तथा सेयर होल्डरको जन्मदिनमा घरमै समेत केक लगिदिने गर्थे । १६ देखि २२ प्रतिशत ब्याजको प्रलोभन देखाएर घरघरमै पैसा उठाउन पुग्ने गर्थे । आमनागरिकलाई विभिन्न प्रलोभन तथा आश्वासन देखाएर सहकारीले सर्वसाधारण जनताले जीवनभर दुःख गरेर कमाएको रकम, घरजग्गा बेचेर प्राप्त भएको रकम आफ्नो संस्थामा ल्यायो । तर, छिट्टै नाफा कमाउन घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गरे ।

केही वर्षयता घरजग्गा, गाडी र सेयरमा व्यापाक मन्दी आएपछि सहकारी संस्थाहरू बचतकर्ताको रकम नै फिर्ता नगरी रातारात फरार भएका छन् । हिजो सहकारीहरूले तीजमा पनि भोजभतेर लगाउने, दशैंतिहारमा पनि भोजभतेर लगाउने र विभिन्न चाडपर्वमा पनि आफ्ना सदस्यहरूको घरमा मिठामिठा खानेकुरा लैजाने गर्थे । तर, कसलाई के थाहा थियो र हजार रुपैयाँको खुवाएर करोडौं असुलेर भाग्छ भन्ने । बुढापाकाले भन्थे, ‘मान्छेले सित्तैमा पायो भने अलकत्रासमेत खान्छ ।’

अहिले सहकारीमा एउटै व्यक्तिको एक लाखदेखि २५ करोड रुपैयाँसम्म फसेको छ । तर, उनीहरू पाँच हजार खर्च गरेर दर खान सक्दैन थिए । उनीहरू सहकारीले पार्टी प्यालेसमा राखेको तीजलगायत अन्य कार्यक्रममा खानका लागि दौडिएर पुग्थे । पाटी प्यालेसमा भोज गर्दा एक प्लेट खानाको १२ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म लिइन्छ । यसरी १२ सय रुपैयाँ खर्च गर्न लोभ गर्दा आज आफूले सहकारीमा राखेको करोडौं रुपैयाँ डुबेको छ । आमसर्वसाधारणले आफ्नै पैसामा आफूहरूलार्ई दर खुवाएको, केक काटिदिएको, घुम्न लगेको भनेर बुझ्न सकेनन् । सहकारीहरूले आफूहरूलाई कम ब्याज दिएर ऋणीलाई चर्को ब्याज लिने गरेको कुरा उनीहरूले बुझेनन् ।

जो व्यक्तिले सहकारीमा एक करोड मूल्य पर्ने घडेरी धितो राखेर ६० लाख कर्जा लियो, त्यो व्यक्तिसँग पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क, १८ देखि ६० प्रतिशत ब्याज र अनिवार्य सेयर सदस्य हुनुपथ्र्यो । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै उसलाई थाहै नदिई घरजग्गा, गाडी र सेयर संस्थाको नाम ल्याउने । सहकारीहरूले कर्जा दिने समयमै ऋणीलाई थाहै नदिई खाली नेपाली कागजमा हस्ताक्षर गर्न लगाई धितो लिलाम गर्न ऋणीको मन्जुरी लिइसकेको हुन्छ ।

यसरी ऋणीहरू ऋण तिर्न नसकेर कि आत्महत्या गर्न बाध्य हुन्थे कि विस्थापित हुन्थे भने बचतकर्तालाई ब्याजको लोभ देखाएर साँवा पचाइदिने काम सहकारीहरूले गर्दै आइरहेका थिए । सहकारीहरूले घरजग्गा, गाडी र सेयरलाई धमाधम कर्जा प्रवाह गरेपछि यसको मूल्य हवात्तै बढेको थियो ।

मानिसले कुनै क्षेत्रमा लगानी गरेर नाफा कमाउँछु भनेर ऋण लिन्छ । तर, पछिल्लो समय घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको छ । अधिकांशको यही क्षेत्रमा मात्र लगानी भएकाले पनि उनीहरू बिचल्लीमा परेका हुन् । छिट्टै नाफा कमाउने दाउले दुई÷तीन घरको फरकमा पार्टी प्यालेस व्यवसायीहरूले व्यवसाय सञ्चालन गरे । उनीहरूले सरकारले तोकेको मापदण्डसमेत पूरा गरेनन् । यसरी जथाभावी पार्टी प्यालेस सञ्चालन हुँदा त्यो पनि मापदण्डविपरीत घना बस्तीमा यसले एकातिर दुर्घटनाको जोखिम बढेको छ, अर्कातिर बस्ती नै सखाप हुने डर ।

पार्टी प्यालेसमा बनाइने खानेकुरा गुणस्तरहीन हुन्छ । पार्टी प्यालेसमा म्याद सकिएको, सडेको, गलेको तथा खान अयोग्य खानेकुराहरू बनाउने गरेको अधिकांशको भनाइ छ । पहिलापहिला विवाह, व्रतबन्ध, तीजलगायत विभिन्न चाडपर्व तथा भोजभतेर घरमै गर्ने गर्थे । हरेक चाडबाडमा आफ्ना टाढाटाढाका नातेदार, छिमेकी, दिदीबहिनी, दाजुभाइ आदिलाई बोलाउँथे । आफूले जति सकिन्छ, त्यति खुवाउँथे । न ऋण लिन्थे, न ठूलो नै पल्टिन्थे । तर, अहिले यसको ठिकविपरीत छ । अहिले ऋण लिएर जन्मदिनसमेत पार्टी प्यालेसमा मनाइन्छ । आफन्त, छरछिमेकसँग झुटो कुरा बोलिन्छ । ठुल्ठूला धाक देखाइन्छ । आफ्नै परिवारमा कोही गरिब भए हेपिन्छ, तर धनीलाई टाउकोमाथि चढाइन्छ ।

अहिले चाडबाडको नाममा विकृति फैलाउने काम भइरहेको छ । महिला तथा युवतीहरू समाज भड्काउने कपडा लगाउने गर्छन् । अब सरकारले यस्ता गतिविधि रोक्न कानुन बनाउन आवश्यक परिसकेको छ । अहिले गरिब जुनसुकै चाडबाड भए पनि भोकै सुत्न बाध्य भएका छन् । धनीहरू लाखौं रुपैयाँ खर्च गरेर चाडवाड मनाउँछन् । गरिब त्यो देखेर चोरी, लुटपाटमा संलग्न हुन्छन् । चाडबाडको नाममा फैलिने विकृति समयमै नरोकिए समाज विकासतिर नभई विनाशतिर लाग्छ । पछिल्लो समय तीज दुई महिनाअघिदेखि मनाइन्छ । लाखौं रुपैयाँ खर्च गरिन्छ । तर, गरिब जनता बेरोजगारी र महँगीका कारण भोकभोकै सुतेका छन् । शिक्षा र स्वास्थ्यबाट वञ्चित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *