माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५, २०७३ र २०७९ मा गरी तीनपटक प्रधानमन्त्री भए । तीनपटक प्रधानमन्त्री भए पनि उनले देश र जनताका लागि भने सिन्को पनि भाँचेका छैनन् ।
प्रचण्ड प्रधानमन्त्री भएको नौ महिना बितिसकेको छ । सुरुसुरुमा काम गर्नेजस्तो देखिए पनि अहिले फेरि पुरानै अवस्था देखिएको छ । प्रचण्ड सुस्ताएका छ्न् । भ्रष्टाचारको फाइल खोल्ने अभियान पनि बीचमै रोकिएको छ । प्रचण्डको काम गर्ने क्षमता जनताले देखेका छन् । दुईचोटि प्रधानमन्त्री हुँदा त कुनै परिवर्तन ल्याउन नसकेका उनलाई जनताले पत्याउन छाडेका छन् ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा माओवादीले ३२ सिट जित्यो । पाँचदलीय गठबन्धन गरेर चुनावमा भिड्दा पनि माओवादीले खासै राम्रो नतिजा ल्याउन सकेन । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री आफैं खाने भनेपछि उनी हत्तपत्त बालकोट पुगेका थिए । सुरुमा एमाले अध्यक्ष केपी ओलीसँग मिलेर उनी सरकारमा गए । प्रधानमन्त्री बने । एमालेलाई पाखा लगाएर उनी पुरानै गठबन्धनमा फर्किए । तर, नौ महिना प्रधानमन्त्री हुँदासमेत उनको काममा प्रगति हुन सकेको छैन् । सरकार टिकाउने खेल मात्रै भइरहेको छ ।
व्यापारीहरूले कालोबजारी गरिरहेका छन् । महँगीले आकाश छोइसकेको छ । आमनागरिकलाई बिहानबेलुकाको छाक टार्नसमेत धौधौ परेको छ । बेरोजगारीले व्यापक रूप लिएको छ । रोजगारीका लागि दैनिक हजारौं नेपाली खाडी मुलुक गइरहेका छन् । यातायातमा सिन्डिकेट, सहकारीमा देखिएको बेथिति र सरकारी निकायमा भएको बिचौलियाको बिगबिगीतर्फ प्रचण्डको ध्यान केन्द्रित हुन सकेको छैन । मुलुकमा अपराधका घटना ह्वात्तै बढेको छ । दिनदहाडै चोरी हुन थालेको छ ।
गरिबीको कारणले मान्छेले आफ्नै ज्यान लिन थालिसकेका छन् । हालै मात्र एकजनाले वीर अस्पतालको छतबाट हामफाले । केही समयअगाडि संसद् भवनअगाडि एकजनाले आत्मदाह गरे । तैपनि सरकारको आँखा खुलेको छैन । जनता अल्मलाउने खेल मात्रै भइरहेको छ । भटाभट काम गर्नुको साटो प्रधानमन्त्री प्रचण्ड उद्घाटनमै व्यस्त छन् । केही दिनअघि प्रचण्डले भनेका थिए, ‘बर्खा सकिएपछि म लाखौं जनता सरकारको पक्षमा सडकमा उतार्छु ।’ आफूले काम गर्न नसकेको मूल्यांकन उनले पनि गरेका छन् ।
केही समयअगाडि उनले बालुवाटारमा मिडियाका सम्पादकहरू बोलाएर मख्खन लगाउने काम पनि गरेका थिए । देशमा यत्रो बेथिति छ, तर प्रचण्ड सरकार टिकाउनमै व्यस्त छन् । यही पारा रह्यो भने उनलाई अर्को चुनावमा गाह्रो पर्ने देखिन्छ । उनले एमाले अध्यक्ष केपी ओलीको अवस्थाबाट पनि केही कुरा सिक्नुपर्ने थियो ।
ओलीकै कारण एमालेलाई ठूलो धक्का लाग्यो । आफ्ना सांसदलाई विपक्षीलाई अरिंगाल जसरी टोक्नु भनेर सिकाउने, सडकमा कार्यकर्ता ओइराउने, सम्पादकलाई बालुवाटार बोलाएर आफ्नो पक्षमा लेख्न भन्ने, राज्यको ढुकुटीबाट तीजको कार्यक्रम गर्ने, दुईपटक सांसद विघटनलगायतका ओलीको कामले एमाले नै अप्ठेरोमा परेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको पद खाइदिएपछि २०७८ असार २९ गते ओली बालुवाटारबाट बालकोट पुगेका थिए ।
बालकोट जाँदासम्म महेश बस्नेतले ओलीलाई छेकबार गरेर बाजागाजासहित लगेका थिए । तर, त्यसले केही फरक पारेन । जति नै जुलुस निकाले पनि जनताले हेर्ने त काम हो, जुन ओली नेतृत्वको सरकारले गरेन । यहाँबाट प्रचण्डले पाठ सिक्न जरुरी छ । एउटा व्यक्तिका कारण पूरै पार्टीलाई नै क्षति पुग्न सक्छ ।
थोरै सिट ल्याए पनि प्रचण्डले प्रधानमन्त्री खाएका छन् । मौका फेरिफेरि आउँदैन, त्यसैले पाएको बेलामा काम गरेर देखाइहाल्नुपर्छ । मौकाको सदुपयोग गर्न सकेमा मात्र मान्छे अगाडि बढ्छ । उनले मौका पाएका छन्, काम गरेर देखाउनुपर्छ । उनले काम गरेर देखाए भने अर्को चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्न सक्छ । काम नगर्ने र भाषण मात्र ठोक्ने हो भने अर्को चुनावमा माओवादीको अस्तित्व नै हराउन सक्छ ।
देश भ्रष्टाचारको जालोमा जेलिएको छ । देशमा रोजगारी नपाएर विदेश जान खोज्नेहरूसमेत ठगिएको अवस्था छ । म्यानपावर, कन्सल्टेन्सीहरूले ठग्दै आएका छन् । खाडी मुलुक जान पनि मोटो रकम तिर्नुपर्ने बाध्यता छ । तर, प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्री, विभाग, कार्यालयलाई यसको अनुगमन गर्न निर्र्देशन दिँदैनन् ।
जनताले विकास, छिटोछरितो सेवासुविधा मागेका छन् । तर, सरकारले त्यो पनि दिन सकेको छैन । सरकारमा बसुञ्जेल केही नगर्ने अनि निस्किसकेपछि काम गर्न दिइएन भनेर गुनासो गर्ने, अर्को पार्टीमाथि आरोप थुपार्ने प्रवृत्ति देखिएको छ । अहिले पनि प्रधानमन्त्री प्रचण्ड पार्र्टीगत रूपमा हिँडिरहेको देखिन्छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा उनले बोलेका कुरा जनताले मूल्यांकन गरेका छन् ।