विचार

दशैं नजिकिए पनि सर्वसाधारणमा छैन उमंग, बजार चकमन्न

काठमाडौं । दशैं नेपालीहरूको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमंग र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य गरिन्थ्यो । परदेश पुगेका नेपाली पनि दशैं मान्ने घर आउँथे । काठमाडौंमा भएकाहरू पनि घर जाने तयारी गर्थे । सामान खरिद गर्नेहरूको भीड बजारमा एक महिना अगाडिदेखि नै देखिन्थ्यों । जागिर नभएकाहरू दशैं मनाउन महिनादिन अगाडि नै घर जान्थे ।

चोकचोकमा झोला बोकेर गाडी कुरिरहेकाहरूको भीड हुन्थ्यो । तर, यसपटकको दशैंमा ठ्याक्कै उल्टो भएको छ । बजार चनमन्न छ । यतिबेला व्यापारीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले व्यापारीहरू नै निराश छन् । बजारमा देखिएको आर्थिक मन्दीको सबैभन्दा धेरै मार व्यापारीहरूलाई परेको छ । उनीहरू दशैंमा त व्यापार होला भनेर आश गरेर बसेका थिए । कसैलाई पनि दशैं नजिकिएजस्तो महसुस भएको छैन ।

आर्थिक मन्दीले बजारलाई छपक्कै छोपेको अवस्था छ । सर्वसाधारणहरूसँग पैसा नै छैन, कहाँबाट किनमेल गर्नु ? एकातिर महँगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । अहिले धेरैसँग रोजगारी छैन । रोजगारी भएकाले पनि तलब पाइरहेको अवस्था छैन । पहिले ज्यामी काम भए पनि पाइन्थ्यो । पछिल्लो समय त्यो काम पाउन पनि मुस्किल छ । मँहगीले त सबैको ढाड सेकेको छ । बिहानबेलुका चुलो बाल्नसमेत धौ–धौ परेको अवस्था छ । हरेक सामानको मूल्यवृद्धि भएको छ ।

सामान्य दालभात खान पनि महाभारत छ । अनि यस्तोमा दशैं मान्ने खर्च कहाँबाट ल्याउनु ? वित्तीय संस्थामा देखिएको समस्याले पनि अधिकांशलाई मर्कामा पारेको छ । सहकारीहरू रातारात भाग्दा बचतकर्ता त चुलुम्मै डुबेका छन् । खाइनखाई जोरजम्मा गरेको राखेको पैसा लिएर सहकारी सञ्चालन भागेपछि के–को दशैं मनाउनु ? उनीहरू झनै तनावमा छन् । सर्वसाधारणसँग पैसा नभएपछि व्यापारीहरू झिंगा धपाएर बस्नु स्वाभाविकै हो । कतिपय व्यापारी त ‘बोहोनी’ समेत नभएको गुनासो गर्छन् ।

काठमाडौं यस्तो ठाउँ हो, जहाँ खाली सटर पाउन महामुस्किल हुन्छ । सटरकै लागि ‘हारालुछ’ हुन्छ । तर, अहिले त अधिकांश घरमा ‘सटर खाली छ’ भनेर ब्यानर टाँसेको देखिन्छ । राजधानीका सटरहरू खाली भइसकेका छन् । दिनभरि झिंगा धपाएर बस्नुपर्ने भएपछि को सटर भाडा तिरेर बस्ने ? वास्तवमा भन्ने हो भने सर्वसाधारणसँग घर जाने गाडी भाडासमेत नभएको अवस्था छ । सर्वसाधारणले खाद्यान्न र औषधिबाहेक केही किन्दैनन् ।

माछामासु, दही पनि खान छोडिएको छ । चामल र दाल भएपनि गुजारा चल्छ भन्ने मनशायमा उनीहरू पुगेका छन् । हरियो तरकारी छोइनसक्नु छ । खाद्यान्नको हाहाकार अहिले नै देखिन थालिसकेको छ । चिनी, जिरालगायतका सामग्रीमा भएको मूल्यवृद्धिले सर्वसाधारणको सातो लिएको छ । दशैं नजिकिएसँगै विभिन्न आपराधिक घटना घट्न थालेका छन् । दिउँसै लुटपाट हुन्छ । बाटो हिँड्न पनि डरमर्दो अवस्था छ । बजारमा यस्तै मन्दी देखियो भने दशैंपछि झन् खतरा हुन सक्छ ।

चोरीडकैतीले ठूलो रूपमा लिन सक्छ । आम्दानीको स्रोत नभएपछि के गर्ने ? खानु त पर्यो । सरकार जनतालाई रोजगारी दिन सक्दैन, महँगी चाहिँ बढेको बढ्यै छ । गत पुससम्म चार सय रुपैयाँ किलोग्राममा पाउने जिरा अहिले १४ सय रुपैयाँ किलो पुगेको छ । एक बोरा चामलले पाँच सय रुपैयाँदेखि हजार रुपैयाँसम्म बढाइएको छ । चिनीको भाउ १४० रुपैयाँ किलो पुगेको छ । खानेतेलमा पनि मूल्यवृद्धि भएको छ । अनि जनताले कसरी पेट पाल्ने ? हरेक खाद्यान्नको मूल्यवृद्धि भएको छ ।

सर्वसाधारणसँग काम छैन् । देशमा बसेर खान पनि धौ धौं परेपछि नेपालीहरू धमाधम विदेशिरहेका छन् । एयरपोर्टमा जहिले देश छोड्ने नेपालीको लर्को हुन्छ । नेपालको आधा जनसंख्या त विदेशमा छन् । मुलुकमै बसेर केही गर्छु भन्नेहरू पनि हरेश खाएर बाहिर जाने सोच बनाउँदै छन् । यस्तो हुँदासम्म सरकार गम्भीर भएको छैन् । सरकारले जनतालाई अभिभावकत्व महसुस गराउनै सकेको छैन । जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन्, तर सरकारलाई मतलब नै छैन ।

घरधनी भनेर के गर्नु, कोठाबहालमा बस्ने नभएपछि त उनीहरूलाई पनि इँटा टोक्ने कि डण्डी भएको छ । भाडा आउथ्यो र पो मज्जाले बसिबसी खाएका थिए । कोठा र सटर खाली भएपछि त उनीहरूलाई पनि गुजारा गर्न समस्या भएको छ । दुई वर्षअघि दिनमै लाखौं रुपैयाँको व्यापार गर्ने पसलेहरूलाई हजार रुपैयाँको सामान बेच्न पनि गाह्रो छ । मन्दीले हरेक क्षेत्रमा असर पुर्याएको छ । आर्थिक मन्दी जनताले देखेका छन्, तर सरकारमा बस्नेहरूले देख्दैनन् ।

अर्थतन्त्र डामाडोल अवस्थामा छ । राज्यको ढुकुटीमा राजस्व उठ््न छोडिसकेको छ । अर्थजस्तो संवेदनशील मन्त्रालयमा बसेर मन्त्री डा.प्रकाशशरण महत गम्भीर बन्न सकेका छैनन् ।

जनताले तिरेको कर सरकारी कर्मचारीको सेवासुविधा पूर्ति गर्नै पुग्दैन । जनप्रतिनिधि, सांसद, मन्त्री, भूपू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सरकारी कर्मचारी सबै मिलेर राज्यको ढुकुटी दोहन गरिरहेका छन् । काम नै नगरिकन बसिबसी सेवासुविधा पाउने सिस्टम नेपालमा मात्रै छ ।

जनता खान नपाएर पेटमा पटुकी कसेर हिँडेका छन् । सरकारमा बसेकाहरू देशको ढुकुटीले नपुगेर विदेशीसँग हात फैलाउँछन् । यिनीहरू कहिले सुध्रिदैनन् भन्ने देखिएको छ । देशको प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, सांसद, सरकारी कर्मचारी देख्दा जनताहरूमा बेचैनी बढेको छ ।

अनुसा थापा
भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *