काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा सबै सिट आफ्नो पार्टीले जित्ने बताएका छन् । केही दिनअघि एउटा कार्यक्रममा बोल्दै उनले सबै सिट रास्वपाले नै जित्ने बताएका हुन् । लामिछाने लामो समय अमेरिका बसेर आएका व्यक्ति हुन् । अमेरिका जानुअघि उनी दरबारिया थिए । उनलाई ‘खुंखार’ राजावादीको रूपमा चिनिन्थ्यो । अमेरिकाबाट फर्किएपछि उनले नेपालमा पत्रकारिता गरे । टेलिभिजन प्रस्तोताका रूपमा व्यापक चर्चा कमाएका उनले सुरुदेखि नै व्यापारीहरूसँग पैसा उठाउने गरेको उनका निकटस्थहरू बताउँछन् ।
अमेरिकाको नागरिकता र राहदानी लिइसकेका उनी भिजिट भिसामा २०७१ मा नेपाल आए । तर, घरायसी मामिलाका कारण उनी पुनः अमेरिका फर्किएनन्, यतै बसे । कुनै नेपाली नागरिकले अन्य मुलुकमा गएर त्यहाँको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था संविधानमा छ । तर, लामिछानेको हकमा यो लागू भएन । उनले नेपाल आएर टेलिभिजन प्रस्तोताको रूपमा काम गरे । यद्यपि नेपाली नागरिकता लिन चासो देखाएनन् ।
अमेरिकी नागरिक भएरै उनले टेलिभिजनमा कार्यक्रम चलाए । नेपालको कानुनलाई उनले जानाजान लत्याएको स्पष्ट छ । सुशासन र सदाचारिताको विषयमा ठूल्ठूला कुरा गर्ने उनले नै नेपालको कानुन टेरेनन् । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदा उनले नेताहरूलाई बेस्सरी गाली गर्थे । विदेशमा अलपत्र परेका नेपालीलाई आफूले नेपाल फर्काएको भन्दै नौटंकी गर्ने उनी जहिले उग्र रूपमा प्रस्तुत हुन्थे । उनले त्यहाँ हुँदा अकूत सम्पत्ति कमाए ।
नेता, व्यापारी, निर्माण व्यवसायी, कर्मचारीहरूबाट घुस खाएर थुप्रै सम्पत्ति जोडे । आफूसँगै काम गर्ने पत्रकार शालिग्राम पुडासैनीलाई मर्न बाध्य बनाए । उनको दबाब सहन नसकेर पुडासैनीले आत्महत्या गरे । तर, सबुत हुँदाहुँदै पनि नेपालको कानुनले दोषीलाई कारबाही गर्न सकेन । पत्रकार पुडासैनीले यथार्थ खोले, तर केही काम लागेन । उनले आत्महत्या गर्नुअघि तयार पारेको एउटा भिडियो सार्वजनिक भएको थियो । जसमा लामिछानेको कारण आफू मर्न बाध्य भएको भनी उनले खुलाएका छन् । उनले भिडियो त बनाए, तर केही फरक परेन ।
आँखामा पट्टी बाँधिएका जनताको भीडलाई सडकमा उतारेर लामिछाने उम्किए । उनको अगाडि मुलुकको न्याय प्रशासन नै थर्थर काप्यो । प्रमाण हुँदाहुँदै पनि देशको कानुनले उनलाई छुन सकेन । त्यो घटनाबाट उनको पावर पुष्टि भइसकेको थियो । उनी ठूलै पहुँच भएको व्यक्ति रहेछन् भन्ने कुरा सर्वसाधारणले बुझिसकेका थिए । मर्ने मरेको मर्यै भए । त्यसलाई नै खुड्किलो बनाएर लामिछाने राजनीतिमा आए । जहाँ पुडासैनीले आत्महत्या गरेका थिए, त्यही क्षेत्रमा उनले चुनाव लडे ।
हिजो मुलुकमा राजनीतिक परिवर्तन गर्ने बेला उनी कहाँ थिए ? २०६२–६३ मा जनआन्दोलन हुँदा उनी अमेरिकामा मोजमस्ती गरिरहेका थिए् । जसले एक थोपा रगत बगाएको छैन, एक दिन भूमिगत गएको छैन, जेल परेको छैन, आफन्त गुमाएको छैन, उसले ठूला कुरा गरेर हुन्छ ? राजतन्त्र फाल्न पुराना नेताहरूले धेरै संघर्ष गरे । उनीहरूले कदम नचालेको भए आज पनि पुरानै व्यवस्था हुन्थ्यो । अर्काले व्यवस्था ल्याइसकेपछि राजनीतिमा भित्रिने रवि लामिछानेकै ठूला कुरामा जनता भुलिएका छन् ।
एउटा उखान छ, ‘दुःख गर्ने कालु, मकै खाने भालु’ ।
लामिछानेको कुरा ठ्याक्कै त्यस्तै छ । चुनाव जितेर आउनेबित्तिकै लामिछाने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री खान पुगे । नागरिकताको विवादमा परेका उनको सबै पद सर्वोच्च अदालतले खाइदियो । पार्टी सभापतिदेखि लिएर सांसद, उपप्रधान र गृहमन्त्रीको पद गुमाए । उनले सिडियो कार्यालय, काठमाडौंमा निवेदन दिए, नागरिकता लिए । नागरिकता लिनेबित्तिकै बालुवाटार धाउने क्रम सुरु भयो । अन्य मन्त्री नखाने, गृहमन्त्री नै चाहिने अडान कसेपछि प्रचण्डले मानेनन् । उनी निकै अनुरोध गरे, तर प्रचण्डले ‘रेस्पोन्स’ नै गरेनन् । त्यसपछि एमाले अध्यक्ष केपी ओलीमाथि दबाब दिन थाले । त्यतिबेला प्रचण्ड र ओलीको मिलीजुली सरकार थियो ।
प्रचण्डले अरु मन्त्री खानुस् भनेपछि उनले आफ्नो पार्टीबाट मन्त्री बनेको सबैलाई फिर्ता बोलाए । आफूले नपाउँदाको रिस उनले अरुमाथि निकाले । चितवनमा निर्वाचन आयोगले पुनः उपनिर्वाचन गराउनुपर्ने भयो । २०८० वैशाख १० गते उपनिर्वाचन भयो । जनताले तिरेको करोडौं रूपैयाँ कर फगतमा खर्च भयो । मतदाताले फेरि गएर मतदान गर्नुपर्ने भयो । यसको दोषी रवि लामिछाने हुन् । उनले पहिल्यै नागरिकता लिइदिएको भए जनताले तिरेको कर खेर जाँदैनथ्यो । न जनताले दोहोर्याएर दुःख पाउँथे । आफू गल्ती गर्ने अनि दुःख जनतालाई दिने ।
चुनाव जितेर आइसकेपछि पनि उनको दौडधूप सुरु भयो । मन्त्री पाइन्छ कि भनेर उनी कहिले कांग्रेसका सभापति शेरबहादुर देउवा त कहिले ओलीकहाँ पुग्थे । तर, उनको केही लागेन । आफ्नै पार्टीका सांंसदको समेत उनी खोइरो खन्न पछि हट्दैनथे । सांसद स्वर्णिम वाग्लेले संसद्मा अर्थतन्त्रको विषयमा बोलेका थिए, लामिछानेले उनको सातो खाइदिए । अर्थविद्ले अर्थको विषयमा बोलेका कुरा वास्तविक थिए । रवि लामिछानेलाई पचेन । उनले वाग्लेलाई निकाल्न मात्र बाँकी थियो । आफ्ना पार्टीका सांसदलाई स्वीकृतिबिना मिडियामा भनाइ राख्न नपाउने भनेर अंकुश लगाए ।
देशमा लोकतन्त्र, गणतन्त्र आइसकेको छ । नेपालको संविधानले बोल्न स्वतन्त्रता दिएको छ । उनले त राजा जस्तै सिधै निर्णय लादिदिए । सांसद हुनुअघि उनीहरू नेपाली जनता हुन् । संविधानले नै बोल्ने अधिकार दिएको छ भने लामिछाने रोक्न खोज्ने को हुन् ? उनले सांसदहरूलाई नियन्त्रण गर्न खोजे । जसकारण उनको पार्टीबाट चुनाव जितेर आएका सांसदहरूले आफ्नो कुरा सदनमा खुलेर राख्न सकेका छैनन् । उनीहरूले पिँजरामा हालेको चराजस्तै भएका छन् । पार्टीले टिकट दिए पनि जिताउने जनता हुन् । जनताको कुरा उठाउनु उनीहरूको दायित्व हो । पार्टीको सभापतिको कुरा होइन, जनताको कुरा सांसदहरूले उठाउनुपर्छ । रास्वपालाई भोट दिएर जिताउने मतदाताहरू निराश भएका छन् ।
काठमाडौं २ एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसलाई विद्वानहरूको क्षेत्र भनिन्छ । वरिष्ठ नेताहरूले चुनाव जितेको ठाउँमा सोविता गौतमले बाजी मारिन् । तर, उनले के काम गरिन् ? अहिले चुनाव जितेको ठाउँमा दोहोर्याएर उनीहरूले जित्दैनन् । अनि कसरी पहिलो पार्टी बन्ने ? कि त बुथ कब्जा गर्नुपर्यो । दिउँसै अध्ँयारो पानें कुरा गरेर हुन्छ ?
चुनाव जितेर आएर सरकारमा नगएको भए पनि जनताले विश्वास गर्थे । विपक्षीमा बसेर जोडतोडका साथ जनताको कुरा उठाएको भए जनतामा प्रभाव पथ्र्यो । उनी सरकारमा गए । नागरिकताको विवाद ननिस्किएको भए उनले अहिले पनि गृहमन्त्री खाइरहेको हुन्थे । जनताले उनलाई के आधारमा विश्वास गर्ने ? पहिल्यैदेखि विवादमा तानिएका उनमाथि विश्वास गर्ने कुरा आधार छैन । अदालतले पद खाएको झोकमा उनले पत्रकार सम्मेलन गरेर मिडियालाई जथाभावी गालीगलौज गरे । मिडियाले उनलाई त नागरिकता नलिनु भनेको थिएन । कानुन नमान भनेका थिए ।
गल्ती आफ्नो अनि गाली अरुलाई गर्न सुहाउँछ ? उनले जनतासँग माफी माग्नुपथ्र्यो । गल्ती स्वीकार्नुपथ्र्यो । तर, उनले जनताको दिमाग नै घुमाइदिए । खुरापाती दिमागको प्रयोग गरेर कहिलेसम्म जनतालाई झुक्काउने ? लामिछाने पटकपटक कानुनबाट उम्किए । उनको अगाडि देशको न्यायालयदेखि प्रशासनसम्म निरीह बन्यो । उनी कानुनभन्दा माथि भए ।