रिबन

कालोबजारी गर्नेलाई कारबाही गर्न सरकार डरायो

पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्री हुन् । १० वर्षे जनयुद्धको नेतृत्व गरेका उनी कालोबजारी, महँगी, सिन्डिकेट, दलाल र भ्रष्टाचारीको खोइरो खन्ने गर्दथे । अहिले उनकै सरकार छ, तर बजारमा कालोबजारी रोकिएको छैन । महँगी र कालोबजारी दिनप्रतिदिन बढ्दै गएको छ । यद्यपि वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू टुलुटुल रमिता हेरेर बसेका छन् ।उनीहरू बजारमा भएको महँगी नियन्त्रण गर्न असफल बनेका छन् ।

प्रचण्डले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको महिनौं बितिसक्यो, तर उनले जनताको हितमा अहिलेसम्म सिन्को पनि भाँचेका छैनन् । सबै क्षेत्रमा दलालहरूको बिगबिगी छ । तर, सरकार ‘एक्सन’ मा जान सक्दैन ।बजारमा के भइरहेको छ ? भन्ने कुरा पनि सरकारका प्रतिनिधिहरूलाई सायदै थाहा होला ।

चाडबाडको बेलाको चिनीको हाहाकार सिर्जना गरिएको छ । व्यापारीहरूले चिनी लुकाएका छन् । नेपाली जनता एक किलो चिनीको १६० देखि १८० रुपैयाँसम्म तिर्न बाध्य छन् । सिधा मुखले चिनी छ भनेर सोध्यो भने छैन् भनिहाल्छन् व्यापारी । चिने जानेका र उजुरी नगर्ने उपभोक्तालाई लुकाएर चिनी बेच्ने गरिएको छ ।दशैं चिनीविनै सकियो । दशैंदेखि नै चिनीको अभाव सिर्जना थालिएको थियो । जसोतसो दशैं त गयो, तिहारमा के गर्ने ? तिहार मिठाईको चाडपर्व हो । मिठाई बनाउन चिनीको खाँचो परिहाल्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुपर्ने हुन्छ ।

भागमा सेल राख्नैपर्छ । सेल बनाउन चिनी नभईकन हुँदैन । सर्वसाधारणलाई अहिलेदेखि नै चिनीको अभावले पिरोल्न थालेको छ ।दशैंअघि ९० रुपैयाँ किलोग्राम पर्ने चिनी दोब्बर तिर्दा पनि पाउने अवस्था छैन । तिहार आँगनमै छ । तर, सरकारलाई कुनै मतलब छैन । कहाँबाट चिनी ल्याएर सेल पकाउनु ? सर्वसाधारण चिनीको खोजीमा पसल–पसल चहार्दै हिँडेका छन् । एकाध किलो पाउन पनि महाभारत छ ।पहिलेपहिले चिनीको त्यति अभाव खड्किँदैनथ्यो । किनकि चिनी नभए पनि सख्खर पाइन्थ्यो । चिनीभन्दा बढी सख्खरको प्रयोग गर्ने चलन थियो । तर, अहिले त सख्खर देखिनै छाड्यो । फाट्टफुट्ट मिश्री पाइराखेको छ । मिश्री पनि दोब्बर मूल्य हालेर किन्नुपरेको उपभोक्ताहरूको गुनासो छ ।

सर्वसाधारण जनता बजार अनुगमन गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरिरहेका छन्, सरकार कानमा तेल हालेर बसेको छ ।जनताको आवाज नसुन्ने यस्तो सरकार हुनुको के फाइदा ? चिनीमा भएको कालोबजारी हटाउन नसक्ने सरकारले के देश विकास गर्छ ? प्रचण्ड सरकारका उद्योगमन्त्री रमेश रिजाल छन् । बजार अनुगमन शून्य छ । व्यापारीहरूले आफ्नो मनोमानी चलाएका छन् । तर, उनले त्यस्ता व्यापारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छैनन् । बरु कालोबजारी नियन्त्रण गर्न सकिनँ भनेर मिडियालाई प्रतिक्रिया दिइरहेका छन् । जिम्मेवारी लिइसकेपछि सकिनँ भनेर उम्किन पाइन्छ ? नैतिकताले दिन्छ ? सरकारसँग अब दुइटा उपाय छ

कि चाडबाड नमान भन्नुपर्यो कि तत्काल चिनीको व्यवस्था गरिदिनुपर्यो । यो दुइटै काम गर्न नसक्ने हो भने पद त्यागे हुन्छ ।कालोबजारी र महँगी नियन्त्रण गर्न नसक्दा अहिले सर्वसाधारणले माओवादीको व्यापक आलोचना गरिरहेका छन् । यद्यपि माओवादीका कार्यकर्ताहरू त्यो आरोप स्वीकार्नसमेत तयार छैनन् । मिलीजुली सरकारका कारण देश नै उथलपुथल बनेको छ । सबैतिर विकृति फैलिएको छ । अर्थतन्त्र डामाडोल छ, बजार आकाशिँदै गएको छ ।अर्थ र उद्योग मन्त्रालय नेपाली कांग्रेसले पाएको छ । दुवै मन्त्रालयका मन्त्री सक्रिय देखिएका छैनन् । काम नगर्ने मन्त्रीलाई न प्रचण्डले हटाउन सक्छन्, न काम गर्न निर्देशन नै दिन सक्छन् । मन्त्रीहरूको अगाडि उनी आफैं लाचार छन् ।

प्रचण्डलाई सरकार ढल्ने हो कि भन्ने डर छ । डरडरैले गर्दा उनी जनताबाट नांगिएका छन् । प्रचण्डले अहिले जसरी हुन्छ दिन कटाउने कार्य मात्र गरिरहेका छन् ।कहिले पेरिसडाँडामा पुगेर आफूभन्दा अगाडिकै सरकारले सबै बिगारेको बताउँदै आएका छन् । पहिलेकाले बिगारे पनि अहिले त उनी छन् । ‘पास्ट इज पास्ट’ भन्ने कुरा उनले बुझेका छैनन् । पुरानालाई देखाएर उनी उम्किन पाउँदैनन् । पुरानाले राम्रो काम गरेको भए उनी किन आउनुपथ्र्यो र ? जनताले फेरि दोहोर्याएर पुरानालाई जिताइहाल्थें नि । विगतमा जे भए पनि वर्तमान उनको हातमा छ ।भएका विकृति हटाउने, सर्वसाधारणलाई सेवासुविधा दिने जिम्मा उनको काँधमा छ । पद टिकाउन सधैं ‘धमिलो पानीमा माछा मारेर भएन्’ नि ।

उद्योग मन्त्रालयले भारतले चिनी नदिएसम्म नेपालमा सहज आपूर्ति नहुने बताउँदै आएको छ । सरकारले यो भन्न सुहाउँछ ? चिनी नपाउनुको प्रमुख कारण सरकार हो । उखु किसानहरूले समयमै भुक्तानी नपाउँदा उखु खेती गर्नै छाडिदिए ।आफ्नो परिश्रमको मूल्य पाउन किसानहरू बारम्बार माइतीघरमा आएर धर्ना बसे । व्यापारीले तोकेकै भाउमा बेचेको उखुको भुक्तानीसमेत समयमा नपाउँदा निराश बनेका किसानले उखु लगाउनै छाडिदिए । मुलुकमा चिनीको हाहाकार भयो । चिनीका लागि पनि छिमेकीको मुख ताक्नुपर्ने अवस्था सरकारले बनाइदियो । घरमा सेल नपाकेपछि बजारबाट किन्नुपर्छ ।तीस रुपैयाँ पर्ने सेलको मूल्य पचास पुग्छ । सरकार नालायक हुँदाको मर्का जनताले भोग्नुपरेको छ । सरकार छ भनेर जनताले अनुभूतिसमेत गर्न पाएका छैनन् । किनकि महँगीले आकाश छोएको छ ।

जनताको ढाड सेकिएको छ । जनतालाई बिहान बेलुका छाक टार्नै सकस परेको छ । बिहान खाए बेलुका के खाने भन्ने पीरमा छन् जनता ।मुलुकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । रोजगारी नहुँदा नेपाल छोड्नेहरूको लस्कर लागेको छ । सरकारले आँखा चिम्लिँदा कालोबजारी गर्नेहरू मौलाएका छन् । व्यापारीहरूले जानाजान हाहाकार सिर्जना गरेका छन् । यति हुँदासम्म पनि सरकार अनुगमनमा निस्किँदैन ।

जनताको हितमा काम गर्न नसक्ने, जनता ठग्नेलाई कारबाही गर्न नसक्ने पनि सरकार हुन्छ ? बजार अनुगमनका लागि सरकारले कर्मचारीहरूलाई तलब दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभाग छ, स्थानीय पालिका छन्, वडा छन् । जनप्रतिनिधि छन्, तर कसैले पनि बजार अनुगमन गर्दैनन् । सरकारी कर्मचारीहरूलाई सडकमा निस्किन लाज लाग्छ ।देशमा यत्रा सांसद छन् । तर, उनीहरू जनताको हितमा बोल्दैनन् । पार्टीले जे–जे सिकाएर पठायो त्यही मात्र बोल्छन् । विपक्षी दल त नाममा मात्रै सीमित भएको छ । समाजमा भएका बेथितिका बारेमा विपक्षी दलका नेताहरू कहिल्यै आवाज उठाउँदैनन् । एक–अर्काको खुट्टा तान्छन्, एक–अर्कामाथि हिलो छ्याप्छन् । त्योभन्दा बाहेक हाम्रा सांसदले केही गर्न जानेनन् । कालोबजारीलाई कारबाही गर्ने कि अझै रमिता हेरेर बस्ने सरकार ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *