देश

दुर्गा प्रसाई र मीनबहादुर गुरुङजस्ता ठूला व्यापारीका कारण डुब्दै बैंक

सर्वसाधारणले ऋणको तीन किस्ता नतिर्नेबित्तिकै बैंक तथा वित्तिय संस्थाले ऋणीको तीन पुस्तासहित तस्बिरसमेत पत्रिकामा प्रकाशन गर्छ । र, धितो लिलामी प्रक्रिया अघि बढाउँछ । मेडिकल व्यवसायी दुर्गा प्रसाई, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत ठूल्ठूला व्यापारी तथा व्यवसायीले बैंकबाट लिएको ऋणको साँवाब्याज वर्षौंदेखि नतिरेको बताइन्छ । प्रसाईले त दश करोड मूल्य बराबरको धितो राखेर एउटै बैंकबाट अर्बौं ऋण लिएको आमसर्वसाधारणलाई थाहा छ ।

प्रसाईले मात्र होइन, अन्य व्यापारीहरूले पनि यस्तै गरेका छन् । करोडको धितो राखेर अर्बौ ऋण लिएका छन् । अहिले प्रसाई बैंकको ऋण तिर्न तयार छैनन् । ऋण मिनाहाका लागि उनी कहिले सर्वसाधारणलाई बैंकविरुद्ध सडकमा ल्याउँछन् त कहिले राजावादी बन्छन् । उनले ऋण मिनाहाका लागि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कालोमोसो दल्ने अभियान पनि चाले । तर, त्यसमा पनि उनी असफल हुन पुगेका छन् । तर, बैंकबाट ऋण लिएर नतिर्ने यस्ता ठूला व्यक्ति तथा व्यापारीलाई न त बैंकले केही गर्न सक्छ । न त सरकारले नै ।

अहिले भाटभटेनी, सुपरमार्केट, बिगमार्टमा आमसर्वसाधारणमा सामान किन्न जाँदैनन् । किनकि त्यहाँ सबै गुणस्तरहीन, म्याद सकिएको, कम तौल अनि महँगो सामान पाइन्छन् । भाटभटेनीका साहु मीनबहादुर गुरुङको ४२–४३ अर्ब ऋण रहेको बताइन्छ । यति नै पैसा ३० देखि ३५ व्यापारीहरूले बैंकबाट ऋण लिएका छन् । तर, यिनीहरूले वर्षौंदेखि बैंकलाई न साँवा तिरेका छन्, न ब्याज । अहिले बैंक डुबिसकेको छ । बैंकले कर्जा दिँदा राखेको धितो मूल्य घट्दै गएको छ । चार वर्षअघि आनाको ६० लाख भनिएको जग्गा अहिले त्यसको आधा मूल्यमा झरेको छ ।

सामाजिक सञ्जाल तथा बजारमा ‘जग्गा किन्दा घर निःशुल्क’ भनिरहेको भेटिन्छ । यद्यपि, त्यो घरजग्गा किन्ने कोही छैन । दुर्गा प्रसाई र मीनबहादुर गुरुङले व्यापारीहरूबाट सामान ल्याउने, तर पैसा नतिर्ने गरेकोसमेत सुनिन्छ । यिनीहरू प्रत्येक दिन डुब्दै गएका छन् । आमसर्वसाधारणसँग पैसा छैन । बेरोजगारी ह्वात्तै बढेको छ । बजार मन्दीमा छ । धेरैजसो सटर, कोठा र फ्ल्याट खाली भइसकेका छन् । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहने मात्र भेटिन्छन् । किन्ने कोही छैन । सहकारीले करोडौं बचतकर्ताको खर्बौं रकम डुबाउँदा बचतकर्ताहरूको बिजोग भएको छ । उनीहरू घर न घाटका भएका छन् । अब बैंकले यस्ता ठूला व्यापारीबाट कसरी पैसा उठाउँछ ? बैंक फसिसकेको छ । टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकमा बचतकर्ताहरूले राखेको रकम जोखिमतर्फ मोडिँदै गएको छ ।

दुई वर्षअघि सहकारीमा समस्या निम्तियो । तर, सहकारीहरूले यो कुरा कसैलाई थाहा हुन दिएनन् । यद्यपि, टाठाबाठाहरूले भने यो कुरा थाहा पाए । र, सहकारीमा आफूले राखेको रकम भटाभट निकाले । बजारमा सहकारी भाग्न थालेपछि सञ्चालनमा रहेका सहकारीहरूले बचतकर्ताहरूलाई विभिन्न आश्वासन बाँडे । आफू स्थानीयबासी भएको र सहकारीको भवनसमेत रहेको दाबी गर्दै उनीहरूले सोझासाझा बचतकर्तालाई रकम झिक्न दिएनन् । तर, आज यस्ता सहकारीसमेत रातरात फरार भएको छ । बचतकर्ताहरूको बिचल्ली भएको छ ।

दुई वर्षअघि एउटै पसले वा व्यापारीले ३०–३५ वटा सहकारीमा बचत गर्थे । पसलहरूमा सहकारीका कर्मचारीहरूको भीड हुन्थ्यो । बाटोमा पनि जताजतै सहकारीकै कर्मचारी देखिन्थे । एउटा घरमा नौवटासम्म सहकारी सञ्चालन गरिएको हुन्थ्यो । अहिले सबै सहकारी भागेको छ । नभागेको पनि बचतकर्ताको रकम फिर्ता गरेको छैन ।

सहकारीजस्तै अब बैंकको हालत हुन भएको छ । बैंकमा बचतकर्ता गर्ने छैनन् । निकाल्नेको भीड छ । आमसर्वसाधारणले आफूसँग भएको रकम घरमै लुकाए । बैंकमा राख्दा सहकारीले जस्तै खाइदिने डर उनीहरूमा छ । सहकारी डुब्दा करोडौं बचतकर्ताको ३८ खर्ब रकम झ्वाम भएको छ । अब बैंक डुब्दा योभन्दा दोब्बर–तेब्बर बचतकर्ताको खर्बौं रकम डुब्ने छ । बचतकर्ताहरूको बिल्लीबाठ हुनेछ । गणेशमान सिंहले नेपाली जनतालाई भेडा भनेका थिए । आज उनले नेपालीलाई त्यत्तिकै भेडा नभनेको प्रमाणित भएको छ ।

आम सर्वसाधारण, व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बैंक तथा वित्तीय संस्था सबैको पैसा घरजग्गा, गाडी र सेयरमा फसिसकेको छ । ९९ प्रतिशत जनताको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ । हाम्रो देशमा सञ्चालनमा रहेको अधिकांश बैंकमा विदेशीको लगानी छ । ब्याजको प्रलोभनमा सर्वसाधारणले विदेशीले खोलेको बैंकमा बचत गरे । किनकि सरकारी बैंकले डिपोजिटको कम ब्याज दिन्छ । अनि ऋण पनि कम नै दिन्छ ।

उदाहरणका लागि ५० लाख मूल्य बराबरको धितो राखेर १५ लाख मात्र कर्जा प्रवाह गर्छ । त्यसमाथि सरकारी बैंकका कर्मचारीहरू कर्जा दिँदा घुस खान्छन् । अनि कर्जा दिन पनि महिनौं दिन लगाउँछन् । प्राइभेट बैंकहरूले भने बचतकर्ताहरूलाई बढी ब्याज दिए । एक करोड मूल्य बराबरको धितोलाई चिनजान भएमा वा घुस पाएमा डेढ करोडसम्म कर्जा प्रवाह गर्ने । अर्कोतर्फ कर्जा दुई–तीन दिनमै उपलब्ध गराउने । दुर्गा प्रसाई र मीनबहादुर गुरुङलाई बैंकले यतिधेरै ऋण दिएको छ ? तर केको आधारमा ? किनकि यिनीहरूको धितो लिलाम गर्दा पनि बैंकले दिएको ऋण असुल्न सक्दैन ।

गत वर्षको माघ ११ गते संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । आत्मदाह गर्नुअघि उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए । त्यसमा भाटभटेनीले समेत आफ्नो सामानको पैसा नदिएको उनले जनाएका थिए । अहिले दुर्गा प्रसाई र मीनबहादुर गुरुङले थुप्रै व्यापारीहरूको सामानको रकम फिर्ता नगरेको सुनिन्छ । यिनीहरूले हजारौंलाई पीडित बनाएका छन् । व्यापारीहरूको अर्बौं रकम तिरेका छैनन् । फेरि बैंक पनि यिनीहरूले नै डुबाउँदै छन् । प्रसाईलाई थाहा भइसकेको छ कि अब सरकारले आफुलाई समात्छ । बैंकको ऋण पनि आफूले तिर्न नसक्नेमा उनी प्रस्ट छन् ।

अनि आफू बच्न कहिले सर्वसाधारणलाई बैंकसँगै सरकारविरुद्ध आन्दोलन गर्न लगाउँछन् त कहिले राजाकहाँ पुग्छन् ।
राप्रपाले २०७२ सालको संविधान स्वीकारिसकेको छ । र, गत मंसिर ४ गतेको चुनावमा भाग लिएर १४ सिटसमेत जित्यो । अनि प्रसाई एक्लैले राजतन्त्र फर्काउन सक्छन् ? प्रसाई र गुरुङको रणनीति भनेको जनतालाई भ्रममा पार्ने अनि बैंक डुबाउने हो । त्यसैले, अब सरकारले यस्ता व्यक्ति तथा व्यापारीहरूलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *