देश

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध दोस्रो चरणको अनुसन्धान

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणबाट अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध पुनः दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । 

इलाका प्रहरी कार्यालयले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।  प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, उपाध्यक्ष छविलाल जोशी बन्जाडेसहित ४२ जनालाई प्रतिवादी सबैलाई मुद्दा चलाउनु पर्ने रायसहित प्रहरीले शुक्रवार सो प्रतिवेदन सरकारी वकिलको कार्यालय बुटवलमा बुझाएको हो ।  प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य महान्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले प्रतिवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले  पहिलेको मुद्दा २८ र पूरक जाहेरीका थप १४ जना गरी ४२ जनालाई मुद्दा चलाउने रायसहितको प्रतिवेदन जिल्ला महान्यायाधिवक्ता कार्यालयमा बुझाइएको जानकारी दिए  ।

 उनका अनुसार अनुसन्धान प्रतिवेदन शुक्रवार सरकारी वकिल कार्यालयमा बुझाइएको छ । आजबाटै सो प्रतिवेदनमाथिको अध्ययन सुरु भएको छ ।  प्रहरी नायव  उपरीक्षक विजयराज पण्डितले पूरक जाहेरीमा उल्लेख भएका रबी लामिछाने, छविलाल जोशीसहित गोर्खा मिडिया नेटवर्कलगायत गितेन्द्रबाबु राईसँग समेत जोडिएका विभिन्न ११ कम्पनी र त्यसमा संलग्न व्यक्तिलाई प्रतिवादी बनाउन सुझाव दिएको बताएका छन्  ।

रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठौरले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने गरी रायसहितको प्रतिवेदन तयार गरेर अध्ययनका लागि सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने जिल्ला अदालत कास्कीको आदेशमा बिहीबार रिहा भएका थिए ।  लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । लामिछाने रिहा भए लगत्तै रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा शुक्रवार बुझाएको हो ।

रवि लामिछाने कास्की प्रहरी हिरासतमै  थिए ।  सोही बेला कात्तिक १९ गते जिल्ला अदालत रूपन्देहीले   लामिछानेमाथि  सुप्रिप सहकारीमाथि अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि कात्तिक २७ गते कास्की हिरासतबाट लामिछानेलाई प्रहरीले भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन बयान लिइएको थियो ।  तिन दिन  बयान दिएर लामिछानेलाई पुनः कास्की फिर्ता गराइएको थियो । 

 अघिल्लो सरकारमा प्रधानमन्त्री प्रचण्ड भएको बेला गृहमन्त्री बनेका लामिछानेमाथि  बुटवलको सुप्रिम सहकारीको बचतकर्ताहरुको रकम हिनामिना प्रकरणमा को  वैशाख ३ गते अदालतमा मुद्दा  दर्ता भएको थियो । एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।  पूरक जाहेरीपछि रविलाई ४ करोड  १५ लाख र छविलाल जोशीलाई ४ करोड  २७  लाख बिगो दाबीसहित मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदनप्रहरीले सरकारी वकिलको कार्यालय  बुटवलमा बुझाएको छ ।

लामिछानेमाथिको सुद्धाको दायरा अहिले नै किनारा भने लागि सकेको छैन । अझै लामिछानेमाथि चार वटा जिल्लामा सहकारी हिनामिना प्रकरणमा अनुसन्धान हुन बाँकी छ ।  लामिछानेमाथि रुपन्देही, चितवन, काठमाडौँ र पर्सामा  सहकारी ठगीको आरोप लागेको छ । तर रास्वपा नेता तथा कार्यकर्ताहरूले रवि निर्दोष भएको भन्दै खुसीयाली मनाइरहेका छन् । सरकारले लामिछानेमाथि सहकारी ठगीमा निष्पक्ष अनुसन्धान अगाडी बढाउन निर्देशन दिएसँगै प्रहरीले अनुसन्धान गरेको थियो । 

यस्तै लामिछानेविरुद्ध काठमाडौँ कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा दायर भएको छ । ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा गत आइतबार मुद्दा दायर भएको थियो । लामिछानेमाथि सो सहकारीमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *