देश

तीन वटा वैकल्पिक बाटोको प्रयोगबाट आंशिक संचालनमा पूर्व–पश्चिम राजमार्ग

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि सवारी आवागमन ठप्प बनेपछि बैकल्पिक बाटोको माध्यमबाट सवारी संचालनमा ल्यान थालिएको छ ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेल सवारी संचालनका लागि हाल तीनवटा वैकल्पिक बाटो प्रयोग गरेर सवारीसाधन संचालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार अहिले तीन वैकल्पि बाटोको माध्यमबाट सवारी आवागमन भइरहेको छ ।

विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भइरहेको छ । ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो भएको उनले बताए ।

त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासीका डीएसपी जेशी शाहका अनुसार अहिले सवारी आंशिक रुपमा चलिरहेको छ । चिनियाँ इन्जिनियरको टोली पुलमा पुगेर अहिले अध्ययन गरिरहेको उनले बताए । शुक्रबार साँझ दुम्किबासमा पुल भाँचिदा यातायात नै अवरुद्ध भएको थियो । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *