राजनीति

रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर, न्यायाधीश माधव अधिकारीको इजलासमा बयान

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा गत बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईले रिहाको आदेश दिएका थिए । त्यसपछि आइतबार अदालतमा बयानका लागि उपस्थित भएका हुन् ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

लामिछानेविरुद्ध पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपसहित मुद्धा दर्ता भएको छ । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएपछि ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले गरेको अनुसन्धान अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको गोरखा मिडिया नेटवर्कमा देखिएको छ । सरकारी वकिलले
लामिछानेविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा लामिछानेले ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत बिदेश पठाएको उल्लेख गरिएको छ । २०२१ र २०२२ मा सो रकम विदेश गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको अभियोगपत्रमा उल्लेख छ ।

बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’लाई भुक्तानीबापत सो रकम पठाएको दाबी गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग संझौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडियो नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

सो सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *