काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वनस्पति घिउमा हुने ट्रान्स फ्याटको मात्रा बढी भएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
विभाले एक सुचना जारी गरी वनस्पति घिउमा हुने ट्रान्स फ्याटको मात्रा बढी नबनाउन आग्रह गरेको छ । यदि विभागको निर्देशनलाई वेवास्ता गरी सो कार्य गरेको अवस्थामा कारबाही गर्ने विभागले चेतावनी दिएको हो । वनस्पति घिउ तथा आंशिक रूपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरी उत्पादन सञ्चय वा बिक्रि वितरण गरिने खाद्य पदार्थमा हुने ट्रान्स फ्याट सम्बन्धी मापदण्ड लागु गर्न सुचना जारी गरेको विभागले जनाएको छ । अनिवार्य गुणस्तर मापदण्ड अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट अधिकतम सीमा सम्बन्धी व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अनुसार हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पति घिउ, हाइड्रोजिनेसन गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा नबढेको हुनु पर्नेछ विभागले जनाएको छ । यस्तै खाद्य पदार्थको लेबलमा ऐन नियम बमोजिम लगाउने लेबल विवरण साथै अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नु पर्ने विभागले जनाएको छ ।
लेबलमा ट्रान्स फ्याटरहित भनी दाबी गरिएको हकमा सो खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी हुन नहुने व्यवस्था रहेको छ । सोही अनुसार विभागले देशभरिका खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा वितरणकर्तालाई सूचित गराएको हो । तोकिएको व्यवस्था भन्दा बढी ट्रान्सफ्याट पाएमा विभागले कारबाही गर्ने जनाएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले चिल्लो पदार्थमा पाइने ट्रान्स फ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आएको थियो । सन् २००१ मा सो तथ्य सार्वजनिक भएको भन्दै प्रतिष्ठानले सो पदार्थ कम गर्न आग्रह गर्दै आएको थियो । ट्रान्स फ्याट एक प्रकारको स्वास्थ्यका लागि हानिकारक अति चिल्लो पदार्थ हो ।