काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका छन् ।
मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन् ।
उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालीन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए । जनतामाझ सही सूचना सम्प्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना सम्प्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ती सुझावहरू कार्यान्वयन गर्न नसकिएको बताए ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रसारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले विश्वभरि सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए । नेपालका प्रत्येक भूगोलमा समाचार सेवा पुर्याउन सकेको ठूलो उपलब्धि मान्नुपर्ने उनको भनाइ छ ।
उनले भने ‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरूले गरेको हो । तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरु यसको सिद्धान्त मुताबिक चलाउन नसक्दाखेरि सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा डेप्लभ भयो । त्यत्रो राम्रो काम गरेको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरूको चाकडी गर्ने संस्थाको रुपमा विकास भयो । जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन ।
मिथ्या र झुट समाचारहरू प्रसारण गर्यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो । बहुदल आयो, २०४६ सालमा प्रजातन्त्र आयो । त्यसपछि यसलाई धेरै सुधार गर्ने प्रयास भए । धेरै उतारचडाबको बीचमा हामीले दोस्रो जन आन्दोलनमा आइपुग्दाखेरि रेडियो नेपाल तथा नेपाल टेलिभिजनहरू जस्ता सार्वजनिक प्रसारण संस्थानहरूलाई योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदलहरू बने । कार्यदल तथा सुझाव समितिहरूले सरकारलाई सुझाव पनि दियो ।
त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो । तर अहिले चाहिँ उ बेला सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा पिएसबीको उत्पत्ति भयो । त्यतिबेला पास हुन सकेन । अहिले चाहिँ पारित भएर कार्यान्वयनमा आएको छ । सार्वजनिक प्रसारण संस्थाहरूले सही दिशामा अघि बढ्छ । अब उत्कृष्टतामा विश्वास गर्ने हुनुपर्छ । उत्कृष्टतामा विश्वास गर्नु भनेको प्रतिस्पर्धा हो ।
त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रुपमा सार्वजनिक सेवा प्रसारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भुमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहिँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु । हाम्रो प्रसारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भूगोलको सबै ठाउँमा पुग्नुपर्यो । त्यति मात्र गर्न सकियो भने पनि महान् उपलब्धि हुन्छ भन्ने लाग्छ ।’
नेपालभित्रका सम्पूर्ण घरहरूभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक प्रसारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिए ।