काठमाडौं । सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिहाईको माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडी आन्दोलन गर्दै आएका रास्वपा नेता तथा कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वापका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् । बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीे उनको सुरक्षामा खटिएका थिए । अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । रास्वपाका कार्यकर्ताले आफूलाई गालीगलौजसँगै लछार–पछार गरेर कुटपिट गरेको अधिवक्ता त्रिपाठीले बताए ।
अधिवक्ता त्रिपाठीले भने , “अदालत परिसरमा म माथि कुटपिट भयो, गालीगलौज गरियो । मलाई लछार–पछार गरियो । कोट तानेर आक्रमण भयो । धकेलाधकेल भयो, प्रहरीले सुरक्षा दिएर मलाई राखेको छ । म अहिले अदालत परिसरमै छु ।” यसअघि पनि पोखराको सूर्यदर्शन सहकारी पीडितहरुलाई समेत रास्वपाका नेता तथा कार्यकर्ताहरुले कुटपिट गरेका थिए ।
अदालत परिसरमा नै बहस गरेको आरोपमा अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नुले न्यायलयमा समेत थ्रेट बढेको छ । सरकारले त्यस्तो गतिविधि गर्नेलाई सकेजति चाँडो कारबाही प्रक्रिया अगाडी बढाउन आवश्यक छ । रास्वपा अनुसन्धान प्रभावित पार्ने गतिविधि बारम्बार गर्दै दादागिरी शैलीमा न्याय सम्पादनका व्यक्तिमाथि आक्रमण भएपछि अहिले जताततै न्यायलयका विषयमा र रास्वपाप्रति आलोचना भएको छ ।