काठमाडौं । काठमाडौंँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा निम्बित रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका लामिछाने आइतबार स्वर्णलक्षी सहकार िठगी प्रकरणको आरोप लागेसँगै बयानका लागि जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए । तीन दिनसम्मको थुनछेक बहसपछि बुधबार काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटी बुझाएर रिहा हुन आदेश दिएपछि लामिछाने सोही रकम बुझाएर रिहा भएका हु्न् । रिहा भएपछि लामिछानेले देशमा न्याय नमरेको भन्दै आफू धरौटीमा छुटेको भन्दै गर्व गरे । तर अदालतले फैसालाको पूर्ण पाठ सार्वजनिक गर्दै थप अनुसन्धान गर्दै जाँदा दोषी करार भएमा लामिछाने जेल जानुपर्ने उल्लेख गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशपछि लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेपछि लामिछाने रिहा भएका हुन् । लामिछानेले त्तत्काल रकम नबुझाए थुनामा जानुपर्ने भएकाले लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेपछि सो बैंकमाफर्त धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने सो सहकारी प्रकरणमा रिहा भएपनि अझै रवि निर्दोष हुन भन्ने पुष्टि भइसकेको छैन्् । लामिछानेलाई अदालतले धरौटीमा छाड्दा लामिछाने कसुरदार नभएको भन्न सक्ने अवस्था नदेखिएको बताएको छ ।
प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००र(साठ्ठी लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नू । साथै फरार रहेका प्रतिवादीहरूको हकमा यसै अदालतबाट पक्राउ पूर्जी जारी गरी पक्राउ भई आएपछि वयानका लागि पेश गर्नू,आदेशमा भनिएको छ । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेविरुद्ध अझै तीन जिल्लामा सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान हुन बाँकी नै छ । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । अब लामिछानेमाथि सोही सहकारी प्रकरणमा अनुसन्धान हुनेछ । जिल्ला प्रहरी कार्यालय चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान जारी राखेको छ । यस्तै लामिछानेविरुद्ध पर्सामा समेत सहकारी ठगीको आरोप लागेको छ ।
लामिछानेलाई थुनामा पठाउनुपर्ने नौ जना सरकारी वकिलहरुले बहस गरेका थिए भने लामिछाने तर्फका कानुन व्यावसायीहरुले लामिछानेलाई रिहा गर्नुपर्ने बहस गरेका थिए । यस्तै बुधबार लामिछानेकोविरुद्धमा बहस गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताहरुले अदालत परिसरमैँ हातपात गर्दै आक्रमण गरेका थिए । असुरक्षित बनेका अधिवक्ता त्रिपाठीको सुरक्षाका लागि प्रहरी निकै ढिला आएर सुरक्षा गरे । जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई पक्राउ गरेको थियो । लगत्तै उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको थियो । त्यसपछि रास्वपाले एक विज्ञप्ती जारी गरी सो कार्यमा संलग्न दलका नेता तथा कार्यकर्ता भए कारबाही गर्ने निर्णय गरेको छ । कानुन व्यावसायीमाथि असुरक्षा भएको भन्दै सो कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दै काठमाडौँ जिल्ला अदालत बार एशोसियसनले एक विज्ञप्ती जारी गर्दै सो घटनाप्रति घोर आपत्ति जनाएको छ ।
यस्तो लामिछानेलाई दिएको काठमाडौंँ जिल्ला अदालतको आदेश :