कार्तिक १० गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा परराष्ट्रमन्त्री साउद कार्तिक १२ गते अमेरिकाको औपचारिक भ्रमणमा जानेदेखी सुनको मूल्यमा नयाँ रेकर्ड कायम ,१ लाख १६ हजारमा कारोबारसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
परराष्ट्रमन्त्री साउद कार्तिक १२ गते अमेरिकाको औपचारिक भ्रमणमा जाने
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कार्तिक १२ गते अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन मन्त्री साउद अमेरिका प्रस्थान गर्ने परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।
अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने भएका छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
यस्तै परराष्ट्रमन्त्री साउदले अमेरिकी कांग्रेसका नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेट गर्र्ने छन् युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रिया परराष्ट्रमन्त्रीको अन्य सहभागिता रहेको छ ।
साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन् । अमेरिका भ्रमण सकेर परराष्ट्रमन्त्री साउद कार्तिक १९ गते स्वदेश फर्कने छन् ।
शनिबार नेपाली कांग्रेसद्धारा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गरेको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पु¥याउनेछ ।” काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।
पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादशैँ लगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।
उनले भने , “यसको मूल कारण सद्भावना, शुभकामना, सबै पक्षकाबीचमा मेलमिलाप गर्ने मनोवैज्ञानिक वातावरण बनाउन सकियोस्, हामीभित्र भएका तिक्तता, वादविवादलाई पर राखेर सम्बन्धलाई सहजरुपबाट सहमति निर्माण गर्न सजिलो होस् भन्ने हो ।” अहिले पनि त्यत्तिकै मेलमिलापको आवश्यकता रहेको बताउँदै उनले गौरवकारुपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गरे ।
कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।
बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाइ छ । कांग्रेसले बडादशैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
मुगुमा एकै परिवारका चारजना मृत भेटिए, हत्याको आशंका
मुगुको छायाँनाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । प्रहरीका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका दुई छोरा र एक छोरीको शव घरमा फेला परेका हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर हत्या गरिएको अवस्थामा फेला परेको जानकारी दिए । हत्या गरिएकी श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घन्टा पैदल दूरीमा पर्छ ।
प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । प्रचण्ड र ओलीबीच वर्तमान राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल भएको बुझिएको छ । दशैं बिदा सकिएर शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन् । बिदा सकिएको पहिलो दिन नै ओली र प्रचण्डबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । दशैंलगत्तै वर्तमान सत्ता गठबन्धन भत्कने चर्चाबीच दुई कम्युनिस्ट नेताको भेटवार्ता भएको हो ।
राष्ट्रिय सभाको बैठक कार्तिक १४ गतेका लागि आह्वान
राष्ट्रिय सभाको बैठक कार्तिक १४ गतेका लागि आह्वान गरिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कात्तिक १४ गते मंगलबार अपरान्ह ४ः४६ बजे बस्नेगरी बैठक बोलाएका हुन्। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम सो दिन बैठक आह्वान गरिएको हो ।
एमालेको चियापान कात्तिक १५ गते हुने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ ।
यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ ।
कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपाल अस्पतालमा भर्ना
भीरबाट लडेर कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका कलाकार घिमिरेलाई उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको छ । कलाकार घिमिरे घाँस काट्न गएका बेला बिहान ९ः३० बजे भीरबाट लडेका थिए ।
कलाकार प्रकाश घिमिरे पशुपति प्रसादका मितबा, दर्जनौ चलचित्रका पावरफुल प्रस्तोता , जिबन्त अभिनय गर्ने मिजासिला कलाकार हुन् ।
उद्धारमा खटिएका डिएस्पीमाथि नै चक्कुको हमला
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि प्रनाउ तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा प्रनाउ तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट प्रनाउ तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । प्रनाउ तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए ।
त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए ।
५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन् ।
बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा रु ५० मा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।
दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो ।
बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो । हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम ,१ लाख १६ हजारमा कारोबार
नेपालमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ छ । महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य हो । यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य निर्धारण गरिएको छ ।
महासंघका अनुसार कार्तिक ३ गते १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । दसैँपछि आज सुरु भएको कारोबारमा तोलामा ५०० मूल्य बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । चाँदीको मुल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ ।