खेलकुद

प्रधानमन्त्री कप : गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित

धनगढी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिमले उत्कृष्ट विजयी सुरूवात गरेको छ । आज (मंगलबार) धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको उदघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी फराकिलो जित निकालेको हो ।

गण्डकी प्रदेशले दिएको ५६ रनको झिनो लक्ष्यलाई सुदूरपश्चिमले तीन विकेट गुमाउँदै ९.५ ओभरमै लक्ष्य पुरा ग¥यो । सुदूरपश्चिमको जितमा रेवती धामीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिन्। उनले चार विकेट र २७ बलमा २१ रनमा बनाउँदै अविजित रहिन् ।

पाँचौ नम्बरमा ब्याटिङका लागि आएकी शोभा रोकाया पनि ८ बलमा चार रन बनाउँदै अविजित रहिन् । यस्तै मनिषा बोहराले ११ बलमा ९ रन बनाइन् । विन्दु रावलले ८ बलमा ६ रन बनाइन् । बलिङमा गण्डकीका लागि आकृती तिवारी र अपेक्षा बुढाथोकीले १–१ विकेट लिए ।

टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनायो । उसका लागि रेखा तामाङले २० बलमा १३ रन, सिर्जना पौडेलले २६ बलमा १०, निरु जिटीले १३ बलमा ७ रन बनाए । सुदूरपश्चिमका लागि रेवती धामीले तीन ओभर बलिङ गर्दै ९ रन खर्चिदै चार विकेट लिइन् । जानकी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए ।

उत्कृष्ट प्रर्दशन गर्ने रेवती धामीले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद तीन हजार पुरस्कार प्राप्त गरिन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा भइरहेको यो प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ र सुदूरपश्चिम छन् । समूह ‘बी’ मा कोशी, बागमती, मधेस, र आर्मी छन् ।

सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन्। फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधामा पिलियर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५ हजार पाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *