राजनीति

वरिष्ठ अधिवक्ता त्रिपाठी कुटपिट गर्नेमाथि कारकाही गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भए कारबाही गर्ने निर्णय गरेको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले सो घटना घटे लगत्तैएक विज्ञप्ति जारी गर्दै त्रिपाठी कुटपिट भएको विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र घटनामा दलको कुनै पनि सदस्य संलग्न भेटिए कारबाही गर्ने जनाएका छन् । यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने रास्वपाले जनाएको छ।

बुधबार सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिहाईको माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडी आन्दोलन गर्दै आएका रास्वपा नेता तथा कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वापका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेपछि प्रहरी उनको सुरक्षामा खटिएको थियो । सो घटनाले न्याय क्षेत्रमा असुरक्षा र अनादार भएको भन्दै चौतर्फि रास्वपाको आलोचना भएको छ । अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । रास्वपाका कार्यकर्ताले आफूलाई गालीगलौजसँगै लछार–पछार गरेर कुटपिट गरेको अधिवक्ता त्रिपाठीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *