राजनीति

समाजवादी मोर्चाभित्र उपनिर्वाचनका बारेमा फरक–फरक निर्णय,बार्गेनिङ टुलको रुपमा उपनिर्वाचन

काठमाडौं । आगामी बैखाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनका विषयमा समाजवादी मोर्चाका चारै दलका आ–आफ्नै निर्णय छन् । माओवादीले दुवै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले उम्मेदवारलाई टिकट नै दिसकेको छ । यस्तै जसपा पहिचानवादीसँग छलफलमा जुटिरहेको छ  । मोर्चाको संयोजन गरिरहेको नेकपा उम्मेदवार उठाउने कि मोर्चामा आबद्ध दलका उम्मेदवारलाई समर्थन विषयमा छलफल कै क्रममा जुटेको छ ।

महासचिव देव गुरुङका अनुसार बुधबार बालुवाटारमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले इलाम र बझाङमा उम्मेदवार उठाउने निर्णय गरेको छ । माओवादी केन्द्रले दुइटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । माओवादी इलामले केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धीरेन्द्र शर्मा, प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, कुमार बराइली र ओम गुरुङको नाम प्रदेशलाई सिफारिस गरेको छ । एकीकृत समाजवादीले इलाममा जितबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले राई र सिंहलाई टिकट समेत वितरण गरिसेको छ ।

जसपाले मोर्चामा आबद्ध दलहरूले आफूखुसी उम्मेदवार उठाएको भन्दै पहिचानवादीसँग छलफल अघि बढाएको छ । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । उपनिर्वाचनका लागि आगामी २४ चैतमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यी दलहरुले एक–अर्कामा बार्गेनिङ पावरको रुपमा लिएका छन् । मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका स्थायी समिति सदस्य भरत बमले बैठकबाट साझा निष्कर्षमा पुग्ने बताउँदै आएका छन् । मोर्चा र एमालेबीच उपनिर्वाचनमा तालमेल हुन सक्ने संभावना समेत बढेको छ ।

मोर्चाका सचिवालय सदस्यसमेत रहेका माओवादी महासचिव देव गुरुङका अनुसार मोर्चाले उपनिर्वाचनका बारेमा अन्तिममा सहमतिका अधारमा अघि बढ्ने निष्कर्ष निकाल्नेछ । तर एकीकृत समाजवादीले बझाङमा कुनै पनि हातलमा उमेदवारीलाई ब्याक नगर्ने दावी गर्दै आएको छ । बझाङमा समर्थन गर्ने दललाई इलाम छाड्न सकिने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ छ ।

एकीकृत समाजवादीले बझाङमा समर्थन गर्न माओवादी र एमालेलाई आग्रह गरेको थियो । बझाङमा आफ्नो पार्टीलाई छाडे इलाममा समर्थन गर्न तयार रहेको अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका थिए । ओलीले उम्मेदवारी घोषणा भइसकेकाले समर्थन गर्न आग्रह गरेका थिए ।

जसपा प्रवक्ता मनीष सुमनले आफैँ उम्मेदवार उठाउने कि पहिचानवादीलाई समर्थन गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताए । उनका अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरूले छुट्टाछुट्टै उम्मेदवार उठाएपछि संयुक्त उम्मेदवारी विषय अडिक हुन सक्ने अवस्था छैन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट